new cabin of singapore airlines२६ असार, काठमाडौ । सिंगापुर एयरलाइन्सले विमानमा नयाँ पुस्ताको क्याबिन उपयोगमा ल्याएको छ । आरामदायी उडान यात्राका लागि यो नयाँ सेवा बेन्चमार्क बन्ने कम्पनीको विश्वास लिएको छ । सेप्टेम्बर महिनादेखि सिंगापुरबाट लन्डन जाने बिजनेस र इकोनोमिक क्लासका यात्रीहरूले नयाँ क्याबिनको अनुभव गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

नयाँ विमान थपिँदै जाँदा नयाँ सिट र क्रिस वल्र्ड मनोरञ्जन सेवा अन्य रुटका यात्रीहरूले पनि पाउने एयरलाइन्सले जानकारी दिएको छ । सिंगापुर एयरलाइन्सले यो सेवाका लागि सुरुका ८ बोइङ ७७७–३०० ‘इआर’ विमानमा १५ करोड डलर लगानी गरेको छ ।

आउँदा वर्षहरूमा सिंगापुर एयरलाइन्सका लागि आउने नयाँ एयरबस ए३५० बिमानमा पनि यो सेवा थप्न कम्पनीले थप लगानी गर्ने जानकारी दिएको छ । मंगलबार घोषणा गरिएको यो नयाँ सेवा जडानका लागि कम्पनीले विश्वका प्रख्यात डिजाइन कम्पनीहरूसँग दुई वर्षदेखि सहकार्य गर्दै आएको थियो ।

सिंगापुर एयरलाइन्सको भगिनी संस्था सिल्क एयरले सिंगापुर–काठमाडौं उडान गरिरहेको छ । कम्पनीले अहिले साताका चार उडान गर्छ भने यसलाई निकट भविष्यमा विस्तारको तयारी भैरहेको जनाइएको छ ।