१७ माघ, एजेन्सी।
सिरियाको वार्ताका विषयमा रसिया र अमेरिकाले पुन वार्ता गर्ने भएका छन् । यी दुई देशका विदेशमन्त्रीबीच सो वार्ताको समीक्षाका लागि अर्काे वार्ता हुने जनाइएको हो ।

russia and america map

रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले आगामी फेब्रुअरी महिनामा अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गर्ने बताइएको हो ।

रसियाली विदेशमन्त्रालयले दिएको जानकारी अनुसार फेब्रुअरी ११ मा विदेशमन्त्री लाभरोभले अमेरिकी विदेशमन्त्री केरीसँग सिरियाका विषयमा जेनेभामा भएको वार्ताको प्रगतिका बारेमा छलफल गर्ने छन्।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि जेनेभामा सुरु भएको शान्तिवार्ताको दुई दिनपछि रसियाको यो भनाई आएको छ ।

रसिया र अमेरिका सिरिया वार्ताका सम्बन्धमा महत्वपूर्ण देश हुन् । सिरियामा अमेरिका र रसियाले पनि आइएसका विरुद्धमा भन्दै केही समययतादेखि हवाई काबारही गर्दै आएका छन् ।

शनिबार रसियाली विदेशमन्त्री लाभरोभ र अमेरिकी विदेशमन्त्री केरीबीच फोनवार्ता भएको थियो । सो वार्ताका क्रममा आगामी फेब्रुअरीमा हुने सिरिया सहयोग समूहको बैठकमा जेनेभा वार्ताको समीक्षा गरिने सहमति भएको हो ।

फेब्रुअरी ११ मा सिरिया सहयोग समूहको बैठक बस्ने भएको बताइएको छ । तर त्यो स्थानका बारेमा भने केही भनिएको छैन ।

जेनेभामा सिरियाली राष्ट्रपति बसर अल असदका प्रतिनिधि र सिरियाली बिपक्षीहरुका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । तर विपक्षीहरु भने जेनेभा पुगेपनि वार्तामा बसिसकेका छैनन् ।

सुरुमा उनीहरुले सिरियामा जारी रहेको हवाई कारबाहीका साथै विभिन्न बिकट क्षेत्रहरुमा मानवीय सहायता समेत पुर्याउन नदिनेगरी गरिएको कारबाहीको अन्त्य नभएसम्म वार्तामा नबस्ने जनाएका थिए ।

विपक्षीहरुको यो अडानपछि सो वार्ताको मध्यस्थता गरिरहेको संयुक्त राष्ट्रसंघ र साउदी अरेबियाले पनि विपक्षीहरुसँग वार्ताको टेबलमा बस्न आग्रह गरेका थिए ।

सो आग्रहपछि भने सिरियाली विपक्षीहरु पनि वार्तामा बस्ने भएका छन् । शुक्रबार अबेरतिर मात्र उनीहरुले वार्तामा बस्ने जनाएका थिए ।

तर पछिल्लो समयमा असदको सरकारका प्रतिनिधिहरुसँग बसेर वार्ता नगर्ने जनाएका छन् । त्यसैले जेनेभामा वास्तविक मात्रामा त्रिपक्षीय रुपमा वार्ता नै हुन सकिरहेको छैन ।

शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसंघीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरु भेट्ने जनाइएको हो । शनिबारसम्ममा त्यहाँ सबै पक्षको उपस्थिति भने भइसकेको छ ।

सिरियामा जारी रहेको करिब पाँच वर्षलामो युद्धको अन्त्यका लागि सुरु हुन लागेको सो वार्तामा विपक्षीको पनि सहभागिता रहेपछि यसको निष्कर्षका बारेमा प्रतिक्षा सुरु भएको बताइएको छ ।

सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन ।

यस पटकको वार्ता साउदी अरेबियाले नै तय गरेको हो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता छ ।

यो शान्ति वार्ताको संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले स्वागत गरेका छन् । गएको डिसेम्बर महिनामा मध्यस्थकर्ता समूहको गठन गरी यस वार्ताको व्यवस्था उसले नै मिलाएको थियो।

यो पनि पढ्नुस्।

रसियालाई नेटोको चेतावनी

माओवादी नेतालाई बेलायती अदालतले सुनायो २३ वर्षे जेल सजायँ

सिरिया युद्ध: रुसको अत्याधुनिक उपकरणले पश्चिम र इजरायललाई दिएको झड्का