१८ मंसिर, एजेन्सी । चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ ।

दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रुपमा तयारीहरु भइरहेकाले उनको भ्रमण यही महिनाको अन्त्यतिर हुने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् । स्रोतले दिएको जानकारीअनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उनी भारत जान लागेका हुन् । चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्ने जनाइएको छ ।

सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो । यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङका बीचमा गत अक्टोबरमा महाबलिपुरममा भएको अनौपचारिक भेटवार्तापछि अहिले सबैभन्दा उच्चस्तरको चिनियाँ भ्रमण हुन लागेको हो । रासस