२३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् ।

नेकपा काठमाडौं महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर शनिबार वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए ।

फाइल तस्बिर

हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गरे । ‘लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो’, उनले भने, ‘उसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।’

भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उहाँले प्रष्ट पारे । नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकाङ्क्षाअनुसार काम हुननसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे । उनले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढङ्गबाट सरकारका कामकारवाही अगाडि बढाउन सुझाव दिए । रासस