१९ भदौ, वीरगंज।

प्रादेशिक सीमाकंनको बिषयलाई लिएर भएको मधेस आन्दोलनमा सुरक्षाकर्मीसंगको झडपमा परी मृत्यु भएका पाच जनाको बीरगंजमा आज विशाल शवयात्रा निकालिएको छ । विहानसम्म सुनसान देखिने बीरगंज शहरमा निकालिएको शवयात्रामा हजारौको संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाले आब्हन गरेको अनिश्चितकालिन मधेस बन्दको क्रममा सुरक्षाकर्मीसंगको झडपमा मृत्यु भएका पाच जनाको आज विशाल शवयात्रा निकालिएको हो ।

Parsa-shaba yatra

बीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल प्रागंणबाट निकालिएको विशाल शवयात्रामा बीरगंज लगायत आसपासबाट समेत मृतकलाई श्रद्धाञ्जलि दिन आइपुगेका थिए । बीरगंजको नगर परिक्रमा पश्चात घण्टाघरचौकमा पुगी, त्यहाबाट नगवा हुदै पर्साको तिलावे खोलामा लगेर धार्मिक विद्यि अनुसार अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ।

सुरक्षाकर्मीसंगको झडपमा परी मृत्यु हुनेमा पर्साका मनियारी दिलिप कुमार चौरसिया र धर्मराज सिंह, बारा नौतनका दिनानाथ साह र भोला प्रसाद भनिने जयप्रकाश साह र नगवा घुसुकपुरका सोहनसाह कलवार रहेका छन् । शवयात्रामा मधेस केन्द्रीत दलका नेता तथा कार्यकर्ता, स्वास्थ्यकर्मी, स्थानीयबासी, नागरिक समाज, मानवअधिकारबादी, सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

भाद्र १४ र १५ गते सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका पाचै जनाको शवलाई बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको दुबै मोर्चा र स्थानीय प्रशासन बीच बसेको बैठकबाट मृतकलाई सहिद घोषणा गर्ने, उनीहरुको परिवारमध्येका एक जनालाई रोजगारको ब्यवस्था गर्ने, मृतकको परिवारलाई क्षतिपुर्ति दिने, मृतक परिवारका बालबालिकालाई निःशुल्क शिक्षाको ब्यवस्था गर्ने, मानवअधिकारबादीको उपस्थितीमा पोष्टमार्टम गर्ने र घटनाको छानविनको लागि उच्चस्तरिय आयोग गठन गर्ने जस्ता मागलाई सिफारिस साथ गृह मन्त्रालयमा पत्र लेखिपठाउने शर्तमा मोर्चाले आज शव बुझने सहमति भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार नै गृह मन्त्रालय अन्तर्गत रहेको शान्तिसुरक्षा तथा हातहथियार विभागमा सहिद घोषणा र घाइतेको निःशुल्क उपचारको लागि सिफारिस सहित पत्र लेखि पठाएपछि आज शव बुझेर शवयात्रा सहित दाहसंस्कार गर्न सहमत भएका हुन ।

स्थानीय प्रशासनले आज कृष्णाजन्मअष्टमी पर्वलाई ध्यानमा राखेर विहान ९ बजेदेखि १२ बजेसम्मको लागि कर्फयु आदेश हटाएको भएपनि, शवयात्रालाई लिएर कर्फयु आदेशलाई दिउसो २ बजेसम्मको लागि खोलेको थियो । स्थानीय प्रशासनले ५ घण्टाको कर्फयु आदेश खोले पनि बजार भने पूर्णरुपमा बन्द नै रहेको छ । बजारका सबै मानिस शवायात्रामै सहभागि हुन गएकोले कर्फ्यु हटेपनि बीरगंज बजार भने आज लगभग पूर्णरुपमा बन्द नै रहेको छ ।