१५ फागुन, काठमाडौ । प्रधानमन्त्री तथा रक्षामन्त्री डा. बाबुराम भट्टराईले नेपाली सेनाको तालिमबारे जानकारी लिएका छन् ।
नेपाल सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरको निरीक्षण भ्रमण गर्न गएका प्रधानमन्त्री भट्टराईले तालिमका भौतिक संरचनाहरूको अवलोकन गरेका थिए । उनले अधिकृत क्याडेट समायोजन आधार तालिमका सहभागीहरुको बासस्थान र तालिमका गतिविधि एवं प्रगतिबारे रुचिपूर्वक जानकारी लिएका थिए ।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री भट्टराईले अनुहारमा कालो पोतेर टोपमाथि झार लगाई अत्याधुनिक राइफल बोकेका आफ्ना ‘पूर्वकामरेड’हरुको मार्च पास समेत हेरेका थिए । निरीक्षण कार्यक्रमको दौरान भट्टराईले तालिमका भौतिक संरचनाहरुको अवलोकन गरेका थिए ।
उक्त निरिक्षण कार्यक्रममा प्रधानमन्त्री सहित अर्थमन्त्री वर्षामान पुन, प्रधानसेनापति गौरवसम्शेर जबरा, रक्षा सचिव तिलकराम शर्मा, नेपाली सेनाका बलाधिकृत रथी र रथीको उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी बिनोज बस्न्यातले प्रतिष्ठानको काम तथा क्षमता बारे जानकारी गराएका थिए।