७ असोज, सुर्खेत । आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनको सुरक्षाका लागि हतियार सङ्कलन अभियान थालेको प्रहरीले अब भने शङ्कास्पद व्यक्तिको घरमा पुगेर हतियार खोजी गर्ने भएको छ ।

गत भदौ ३१ गतेदेखि सञ्चालन गरिएको हतियार सङ्कलन अभियानको अन्तिम दिन आइतबारसम्म पनि सबैले हतियार नबुझाएको भन्दै प्रहरीले अब भने शङ्कास्पद व्यक्तिको घरमा खोजी गरी हतियार सङ्कलन गर्ने बताएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले एक हप्ताको अवधिमा ७२ थान हतियार मात्रै सङ्कलन भएको र अझै सर्वसाधारणसँग हतियार रहेको हुनसक्ने भन्दै खोजी गरिने बताए ।

एक हप्ताको अवधिमा सङ्कलन भएका ७२ वटा हतियार प्रहरीले १३ वटा इलाका र चौकीमार्फत सङ्कलन गरेको हो ।

जिल्लाको पश्चिम विद्यापूर र उत्तरपूर्वमा रहेको अवलचिङमा रहेको इलाकाबाट नौ–नौ वटा, पश्चिमको बाबियाचौर र पूर्वको मालारानीबाट आठ–आठ वटा, पश्चिमकै तातोपानीबाट सात थान, पूर्वको छिन्चुबाट छ थान हतियार सङ्कलन भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

यस्तै उत्तरपूर्वमा पर्ने मटेलाबाट चार थान, डाँडाछाप्रेबाट तीन थान, बिजौरा, गुमी र मेहलकुनाबाट दुई–दुई थान र आलिबाट एक थान हतियार सङ्कलन भएको उहाँको भनाइ छ । चार वटा हतियार भने जिल्ला प्रहरी कार्यालयमा नै आएर सर्वसाधारणले बुझाएको प्रहरीले जनाएको छ । रासस