१० साउन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकबाट आएका सुझावलाई अधिकतम समट्ने प्रयास गरेपनि १६ बुँदे सहमति अनुसार नै संविधान जारी हुने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको आइतबारबाट सुरु बैठकमा सम्बोधन गर्दै ओलीले १६ बुँदे भन्दा दायाँबायाँ लाग्ने वित्तिकै तत्काल संविधान संविधान जारी हुन नसक्ने धारणा राखेका हुन् ।

जनमत संकलनमा आएका सुझावलाई दलीय सहमति भएको अवस्थामा मात्र समेटेर अघि बढ्न सकिने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले कुनै एउटा दलले मात्र चाहेर संविधान जारी हुन नसक्ने भएकाले शक्ति सन्तुलनलाई पनि ख्याल गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेका थिए ।

KP Oli making remarks

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरु हिक्मत कार्की, टंक कार्की, खगेन्द्र चुडाल, रामकुमारी झाँक्री लगायतले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा छोड्दा एमालेको पहिचान बिग्रेको टिप्पणी गरेका थिए । उनीहरुले प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने, केन्द्रीय संसदको प्रतिनिधि सभालाई प्रत्यक्षमात्र बनाउनुपर्नेमा अझै पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

केन्द्रीय सदस्य झाँक्रीसहितले नागरिकतामा आमा र वाबुको सट्टा आमा वा बाबु नै शब्द राख्नुपर्ने धारणा राख्दा अध्यक्ष ओलीले नेपाली नागरिक सबैले नागरिकता प्राप्त गर्ने भन्दै ज्वाइँ र बुहारीलाई एउटै प्रावधान लागू नहुने जवाफ दिएका थिए । त्यस्तै सदस्यहरुले वडाअध्यक्ष प्रत्यक्ष चुन्न पाउनुपर्ने धारणा राख्दा अध्यक्ष ओलीले प्रत्यक्ष नै चयन हुने मस्यौदामा प्रिन्ट गर्दा गल्ती भएको स्पष्टीकरण दिएका थिए ।