२८ असार, काठमाडौं ।

आजभन्दा २२ वर्षअघि डा. बाबुराम भट्टराई तत्कालिन संयुक्त जनमोर्चाका अध्यक्ष थिए भने शेरबहादुर देउवा प्रधानमन्त्री । जनमोर्चाको तर्फबाट भट्टराईले प्रधानमन्त्री देउवालाई २०५२ साल माघमा ४० बुँदे माग बुझाए । माग बुझाउने मात्र काम गरेनन्, ती पुरा नभए शसस्त्र जनयुद्ध गर्ने चेतावनी पनि दिए ।

चेतावनी फागुन ५ गतेसम्मको थियो । तर देउवा सरकारबाट माग पूरा हुने छाँटकाँट नदेखेपछि अल्टिमेटम दिएकोभन्दा ५ दिन अघि नै फागुन १ गतेदेखि मुलुकमा शसस्त्र जनयुद्ध शुरु भयो । युद्धका क्रममा १७ हजारको ज्यान गयो, कैयौं अंगभंग, टुहुरा र अपांग भए ।

त्यसको २२ वर्षपछि उनै भट्राई उनै देउवासँग ज्ञापन पत्र बुझाउन सिंहदरबार पुगे । त्यतिबेलाका प्रधानमन्त्री देउवा अहिले पनि प्रधानमन्त्री नै छन् । डा. भट्टराई भने संयुक्त जनमोर्चा (जो पछि नेकपा माओवादी भयो) नभई नयाँ शक्ति पार्टीको संयोजकको रुपमा देउवासामू केही माग्दै थिए ।

त्यतिबेलामा माग फरक थिए । केही राजनीतिक, केही सामाजिक, असमान सन्धी सम्झौता खारेज लगायत माग थिए । तर अहिलेका माग फरक छन् र प्रस्तुती फरक छ । त्यतिबेला चेतावनी थियो अहिले आग्रहपूर्ण । र, अहिलेको आग्रह विकास र समृद्धिसँग सम्बन्धित छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संयोजक भट्टराईले ‘२२ वर्षपहिले पनि ४० बुँदे मागपत्र बुझाएको थिएँ सम्झनुभएको होला नि’ भन्दै देउवालाई तत्कालिन अवस्था स्मरण गर्न बाध्य पारे । देउवा पनि के कम, तत्काल जवाफ फर्काइहाले, ‘५ गतेसम्मको अल्टिमेटम दिएर १ गते नै हान्दिने !’