विनासकारी भुकम्प पछि आउन सक्ने सम्भावित महामारिका कारण यतिबेला राजधानी काठमाण्डौं सबैभन्दा बढी आतंकित छ । ट्राफिक प्रहरीका अनुसार ९ लाखभन्दा बढीले यतिबेला काठमाण्डौं छोडिसकेका छन् । तर सम्बन्धित निकाय भने त्यस्तो अवस्था नरहेको भन्दै सचेत रहन आग्रह गरिरहेको छ । त्यसका लागि के पहल भइरहेका छन् त ? प्रस्तुत छ नेपाली हेडलाइन्सका लागि इपिडिमिलियोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीसँग नेपाली हेडलाइन्सका बोमलाल गिरीले गरेको कुराकानीः

Baburam Marasini

भुकम्पपछि आउन सक्ने सम्भावित महामारी नियन्त्रण र सचेतनाका लागि के गरिरहनु भएको छ ?
हामीले तीन चार किसिमले काम गरिरहेका छौं । सबैभन्दा पहिलो त सचेतना जगाउने काम हो । एकदेखि अर्को मानिसमा वा आफैबाट आफैमा सार्न नदिनका लागि केही आधारभूत नियमहरु हुन्छन्, ती कुराहरु सबै जनतालाई सम्झाउने प्रयास गरेका छौं । खाना खानुअघि सावुन पानीले हात धोएर खानुस वा काँटा चम्चाले खानुस् । पानी सुरक्षित खानुस् । सुरक्षित पार्न उमाल्नु पर्छ । वा क्लोरिनको ट्वाब्लेट राख्नुपर्छ । बासी खाने कुरा नखानुस् । तातो खानुस । जथाभावी थुक्ने, सिंगान नफाल्नुस ।

चर्पिमा मात्र दिशापिसाव गर्नुस् । नजिक चर्पि नभए खाल्डो खन्नुस् । आफू बसेको घर वा टहरा अथवा जहाँ बसिएको छ त्यसको वरिपरि फोहोर नगर्नुस । विभिन्न जिल्लाबाट पानी, रगत र पिसावको नमूना लिएर केही सरुवा रोगहरुको स्थिती बारे जान्न चाहेका छौं, पानीमा संक्रमण हुन सक्ने सम्भावना, रगतबाट सरुवा रोग फैलन सक्ने मान्छे कतिछन् भनेर त्यो हेर्न खोजिरहेका छौं । त्यसका लागि सबै आवश्यक तयारी गरिरहेका छौं । आवश्यक औषधी र खटाउने टोलीका बारेमा हामी सचेत छौं ।

गोरखा लगायतका केही ठाउँमा महामारी फैलन थाल्यो भन्ने समाचारहरु पनि आइरहेका छन् । ती ठाउँहरु स्वास्थ्यकर्मी परिचानल बारे के पहल गरिरहनु भएको छ ?
अहिले गोरखाका त्यस्तो सबै ठाउँमा टोली खटिइसकको छ । टोलीले दिएको रिपोर्ट अनुसार खासै धेरै बिरामी आएका छैनन् । फाट्टफुट्ट मात्र हो । त्यसपनि कडा खालका विरामी होइनन् । सामान्य झाडापखाला लागेका विरामी हुन् । हामीले यहाँबाट पठाएको टोलीले पनि त्यो कुरा पुष्टि गरेर आयो । गाउँमा पनि गयो । बारपाकमा भारतीय सेनाको टोली बसेको छ । उनीहरुले पनि होइन भने । त्यसको विश्वास गर्ने आधार के हो भने लाप्राक र बारपाकमा अहिले पनि चिसो छ । चिसोमा धेरै झाडापखाला हुन्न भन्नेमा हामी विश्वस्त छौं ।
सिर्दिवास चाँही प्रभावित हो कि होइन भनेर अनुसन्धानमै छौं । त्यसका लागि जिल्लासँग समन्वय भइरहेको छ । यहाँ काठमाण्डौ भित्र पनि अरु जिल्लाबाट महामारी फैलिएकोले विरामी आएको भन्ने सत्य होइन । गतवर्षभन्दा पनि झाडापखालाका विरामी कम छन् ।

भुकम्प पीडित अझै ढुक्कसँग घर भित्र बस्न सकेका छैनन् । उनीहरुलाई घाम चर्के पनि समस्या पानी परे पनि समस्या । उनीहरुले घामपानीबाट जोगिन के गर्नुपर्छ ?
मैले भनेका सामन्य नियम बाहेक घरमा भएका अशक्त, गर्भवती, सुत्केरी, बालबालिकालाई पालमा सुत्न गाह्रो हुन्छ । स्वास्थ्य कम्जोर हुन्छ । चिसो लगायत अरु रोगले सजिलै समात्न सक्ने भएकाले सचेत हुनुपर्छ । केही समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा लैजानु पर्छ । पानी उमालेर खानु पर्छ ।

सिन्धुपाल्चोक लगायतका जिल्लामा पानी नै नपाउने समस्या भइरहेको छ । त्यस्तो अवस्थामा उमालेर पानी पिउने वा साबुन पानीले हात धुने अहिलेको अवस्थामा कत्तिको सम्भव होला ? त्यसका लागि अरु बैकल्पिक उपाय के छ ?
सिन्धुपाल्चोका खाने पानीको समस्या छैन भन्ने सुनिएको छ । बरु काभ्रेमा अलि समस्या छ । स्थिती खराव छ । धेरै ठाउँमा पानी नै नभएको र भएको पनि राम्रो छैन । तर तपाईले उठाएको सैद्धान्तिक कुरा हो । त्यसैले बिकल्पको रुपमा काटा चम्चा देउ भनेका हौं । प्लास्टिकको काँटा चम्चा वितरण भए अलि सजिलो हुन्थ्यो कि भनेका छौं ।

सर्वसाधारणले पानी सुरक्षित छ भनेर कसरी थाहा पाउने ?
कि त भुलुक्क उमालेर खाने वा क्लोरिन हालेर खाने गर्नुपर्छ ।हाम्रा गाउँघरको पानी बाउबाजेको पालादेखि खाएको हो केही पनि हुन्न भन्न हुन्न । प्रकोपका बेला केही न केही प्रदुषण हुने सम्भावना बढी हुन्छ । काठमाण्डौंमा बस्नेले क्लोरिन हालेर र गाउँमा बस्नेले उमालेर खानु होला ।

यो पनि हेर्नुस्
भूकम्पको समयमा गर्न नहुने ९ गल्ती