२३ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न दुई शर्त अगाडि सारेका छन् । सहमति अनुसार जेठ पहिलो साता प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्डले दुई शर्त अगाडि सारेका हुन् ।

प्रचण्डले जेठ १५ गते बजेट र जेठ ३१ गतेको निर्वाचन आफ्नो नेतृत्वको सरकारले गर्नुपर्ने अडान राहेका छन् । तर देउवाले स्वीकार गरेका छैनन् ।

प्रचण्डले कांग्रेसको चाहना अनुसार नै बजेटमा विषयहरु समावेश गर्ने गरी बजेट ल्याउने तयारी  गरेको प्रचण्डको सचिवालयले बताएको छ । सचिवालयका एक सदस्यले भने,‘सर्वोच्च अदालतको फैसला निर्वाचन लगायतको विषयमा अहिले सरकार परिवर्तन गर्दा राम्रो सन्देश जादैन, दुई जना साना पार्टीले सरकारको समर्थन फिर्ता लिए मात्र सरकार ढल्छ त्यसैले अहिलेकै सरकारलाई जेठ ३१ गतेसम्म निरन्तरता दिउ ।’

प्रचण्डले हिजोबाट सरकारको आयु लम्ब्याउने गरी गृहकार्य अगाडि बढाएका छन् । जुन प्रस्तावमा देउवाले पार्टीभित्र छलफल गर्नुपर्ने बताएका छन् ।

कांग्रेसले भने आफ्ने नेतृत्वको सरकारले बजेट ल्याउनु पर्ने अडान राख्दै आएको छ । निर्वाचन आयोगले जेठ १५ गते बजेट नल्याउने पत्राचार गरेपनि संविधान अनुसार सरकारले जेठ १५ मा नै बजेट ल्याउने भएको छ । बजेट सार्नको लागि संविधान संशोधन गर्नुपर्ने र त्यो गर्नको लागि दुई तिहाई बहुमत चाहिने अवस्था रहेकाले सरकारले जेठ १५ मा नै बजेट ल्याउने तयारीमा रहेको प्रचण्डको सचिवालयले बताएको छ ।