३० मंसिर, पर्सा । बाराको गाविस सिमरास्थित जगदम्बा स्टिलमा गएराति निस्सासिएर एक मजदुरको मृत्यु हुनुका साथै ११ जना मजदुर बिरामी भएका छन् ।

उद्योग परिसरभित्र रहेको कोठामा राति मजदुरहरुले चिसो छल्न बालेको कोइलाको आगोको कारण कोठामा अक्सिजनको कमी भई भारत उत्तर प्रदेश महाराजगन्ज जिल्ला नगउल गाउँ निवासी २० वर्षीय धनही मुसहरको मृत्यु हुनुका साथै ११ जना मजदुर बिरामी भएका हुन् ।

राति खाना खाई कोठा पुगेका भारतीय मजदुरले चिसो छल्न बालेको आगोका कारण कोठामा अक्सिजन कम भई मुसहरको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिरामी सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिरामीमध्ये भारत उत्तर प्रदेश महाराजगन्ज जिल्ला नगउल गाउँकै २० वर्षीय मोहित गोढ, १७ वर्षीय आलमगिर मियाँ, १४ वर्षीय देवेन्द्र मुसहर र २८ वर्षीय दिपर मुसहरको अवस्था गम्भीर रहेको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षका चिकित्सक प्रशान्त वर्णवालले जानकारी दिए ।

अन्य आठ मजदुरको अवस्था सामान्य रहेको चिकित्सक वर्णवालले बताए । मृतक मुसहरको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस