३० मंसिर, तनहुँ । व्यास गरपालिका वडा नं १ स्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त गरेको छ ।

क्युएए प्राप्तसँगै उक्त क्याम्पस अन्तर्राष्ट्रियस्तरको मान्यतमा सूचीकृत भएको छ । विश्वविद्यालय अनुदान आयोगको मङ्सिर २५ गते बसेको बैठकले यस क्याम्पसलाई क्युएए प्रदान गरेको हो ।

विगत तीन वर्षदेखि यस अभियानमा लाग्दै आएको यो क्याम्पसले शैक्षिक तथा भौतिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका कारण क्युएएको मान्यता पाएको हो । क्युएए मान्यता पाएपछि यो क्याम्पस यस क्षेत्रकै उत्कृष्ट र नमुना क्याम्पसका रुपमा स्थापित हुन पुगेको छ ।

यसअघि विश्वविद्यालय अनुदान आयोगको अन्तर्राष्ट्रिय विशेषज्ञसमेतको टोलीले पटकपटक क्याम्पसको विद्यमान गुणस्तरको अवस्था अध्ययन गरेको थियो ।

हालसम्म नेपालका आठ सामुदायिक क्याम्पसले यस किसिमको मान्यता पाइसकेको बताइएको छ । पश्चिमाञ्चल क्षेत्रमा क्युएए प्राप्त गर्नेमा आदिकवि भानुभक्त क्याम्पस तेस्रो भएको छ । रासस