१५ पुस,काठमाडौं । नेपालस्थित रुसी दूतावासमा कार्यरत सातजना कूटनीतिज्ञ अकस्मात् अध्यागमनको नियन्त्रणमा परे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले काठमाडौंबाट मलेसिया जाने क्रममा शुक्रबार राति उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

 

दूतावासका काउन्सिलर एवं रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रका निर्देशक स्तानिस्लाभ आई सिमाकोभसहितका कर्मचारी कूटनीतिक सुविधाको पासपोर्टसहित मलेसियाको बाटो हुँदै राति ११:४५ बजे मस्को फर्कंदै थिए। मलेसियन एअरको चेकिङ काउन्टरको प्रक्रिया पूरा गरेर प्रस्थान अनुमति लिन अध्यागमन पुगेपछि उनीहरू सबैलाई नियन्त्रणमा लिइएको थियो। आजको अन्नपुर्ण पोस्टले लेखेको छ ।

 

नियन्त्रणमा लिइएकाहरूमा दूतावासको प्रशासन हेर्ने एट्याची भादिम त्यागानाकोभ र उनकी पत्नी इल्भिरा ल्यागानोकोभ, निर्देशक स्तानिस्लाभकी पत्नी भिक्टारिया सिमाकोभ थिए। त्यसैगरी उक्त टोलीमा रोमन लुकियानोभ, नातालिया लुकियानोभ र स्तानिस्लाभ सिमाकोभ पनि थिए।

 

कूटनीतिक पासपोर्टमा जम्मा ९० दिनको भिसा लगाइएको र नेपालमा उनीहरू नौ महिनासम्म बसेको देखिएपछि अध्यागमन अधिकृतले उड्न निषेध गरेका थिए। नेपालस्थित रुसी दूतावासमा आइतबार साँझको ड्युटीमा रहेका अधिकृतले आफ्ना व्यक्तिहरू अध्यागमनको समस्यामा परेको बताए।

 

स्रोतका अनुसार उनीहरू भिसाबिनै ६ महिनाभन्दा बढी नेपालमा बसेको आरोपमा उड्न नदिई अध्यागमन विभागमा फिर्ता पठाइएको थियो। तर उनीहरूले दूतावासमा तत्काल खबर गरी आफूहरूलाई अध्यागमनले नियन्त्रणमा लिएको जानकारी गराएपछि दूतावासले दुई देशबीचको सम्झौता नेपाल सरकारले उल्लंघन गरेको भन्दै कडा प्रतिवाद गरेको थियो।

 

नेपाल र रुसबीच सन् २००२ मा भएको सम्झौतामा दूतावासका कर्मचारीलाई भिसाको अवधि नतोकिने र त्यो कार्यकालभरि हुने (अनलिमिटेड) उल्लेख छ। परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कालीप्रसाद पोख्रेलले यसबारे मन्त्रालयलाई औपचारिक रूपमा कुनै जानकारी नआएको बताए।

 

विमानस्थलका अध्यागमन अधिकारीहरूले दुई देशबीचको सम्झौताबारे जानकारी नराख्दा रुसी दूतावासका कर्मचारीले यस्तो समस्या भोग्नुपरेको थियो। कूटनीतिक व्यक्तिहरू नियन्त्रणमा लिएर जहाज उडिसकेपछि मात्रै अध्यागमन अधिकारीहरूले आफ्नो गल्ती थाहा पाएका थिए।