congress flag१५ पुष, काठमाडौ । कांग्रेसले चुनावमा आर्थिक सहयोग गरेका व्यापारीलाई सभासद् नबनाउने भएको छ । समानुपातिक कोटामा परेका ९१ जना सभासद्को नाम छान्न आइतबार बसेको संसदीय समितिको बैठकमा व्यापारीलाई सभासद् नबनाउने सहमति भएको हो ।

एमालेले पार्टीमा लामो समयदेखि योगदान गरेकालाई छोडेर व्यापारीलाई सभासद् बनाउँदा चर्को विरोध आएपछि कांग्रेसमा ‘दाता’ लाई सभासद् नबनाउने सहमति भएको समाचार आजको अन्नपूर्ण दैनिकले पक्राशित गरेको छ । ‘अहिले पार्टीमा राजनीतिक योगदान दिएकालाई सभासद् बनाउने नीति भएकाले आर्थिक सहयोग गरेका केही व्यापारीलाई सभासद् नबनाउने सहमति भएको छ’, संसदीय समितिका एक सदस्यले भने, ‘उनीहरू पार्टीलाई सहयोग गर्ने दाता भएकाले अन्य निकायबाट सम्मान गर्नेछौं ।’

संविधानसभा चुनाउमा पार्टीलाई आर्थिक सहयोग गरेका शशिकान्त अग्रवाल, मेहश जाजु, खुमाप्रसाद अर्याल, दिव्यराज राजभण्डारी, ओमप्रकाश शर्मा, तिलक रानाभाटलगायत व्यापारीलाई सभासद् बनाउँदा पार्टीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका केन्द्रीय नेता नै छुट्ने भएपछि बैठकमा विवाद भएको थियो । व्यापारी अर्याललाई वरिष्ठ नेता शेरबहादुर देउवाले र बाँकीलाई सभापति सुशील कोइरालाले सभासद् बनाउन प्रस्ताव राखेका थिए ।

कोइराला पक्षबाट ५५ र देउवा पक्षबाट ३६ जना सभासद् बनाउने सहमति भने भएको छ । ‘सोमबार बिहान दुवै पक्षबाट आएका नाममा समितिले निर्णय गरेर दिउँसो १ बजे केन्द्रीय समितिमा लैजाने सहमति भएको छ’, ती सदस्यले भने । निर्वाचन आयोगमा समानुपातिक सभासद् सिफारिस गर्ने सोमबार अन्तिम दिन हो ।