Ramsharan mahat२६ पुष, काठमाडौ । प्रमुख दलका केही नेताले संविधानसभाको बैठक बोलाउन सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको फैसला पर्खिरहनु नपर्ने बताइरहेका बेला तिनै दलका अन्य नेताले भने फैसला पर्खनुपर्ने तर्क गरेका छन् । उनीहरु सर्वोच्चको फैसलापछि भने ढिलो नगरी बैठक बोलाउनुपर्नेमा जोड दिन्छन् ।

प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीले तोकिएको समयमा संविधान निर्माण गर्न दलहरु मिलेर जानुको विकल्प नरहेको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले दलहरुले एक आपसमा आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा पनि राजनीतिक सहमतीबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

संविधानसभाको बैठक डाक्ने विषय अदालत पुगेकाले अदालतको निर्णय सार्वजनिक नभएसम्म अघि बढ्ने नसकिने उनको तर्क छ । उनले संविधानसभाको निर्वाचन सकिएको दुई महिना बित्न लाग्दा पनि सरकार गठनका विषयमा गम्भीर छलफल नहुनु दुःखद भएको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिब युवराज ज्ञवालीले संविधानसभाको बैठक डाक्ने विषयमा कुनै दल विशेषले गर्दा ढिलो नभएको बताए ।

संविधानसभाको बैठकका विषयमा अदालतले गर्ने निर्णय सबै दलले स्वीकार गर्नुपर्ने बताउदै उनले अदालतको फैसलापछि तत्काल संविधानसभाको बैठक डाक्नुपर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सोपकोटाले कांग्रेस र एमालेले सहमतीको वातावरण नमिलाएकै कारण संविधानसभाको बैठक बोलाउन ढिलो भइरहेको आरोप लगाए ।

उनले कांग्रेस र एमालेले सरकार गठन गरेर अघि बढ्नुपर्ने सुझाव दिदैं आफ्नो पार्टी प्रतिपक्षमा बसेर संविधान निर्माणमा सहयोग गर्ने बताए ।