shankar koirala finance minister in us२६ पुष, काठमाडौ । अर्थ मन्त्रालयले करदाताहरुलाई करचुक्ता गर्ने समयावधि पुस मसान्तबाट थप गर्न नसकिने प्रष्ट पारेको छ । सरकारले दिएको सुविधा उपयोग गरी पुस मसान्तभित्र करचुक्ता नगर्नेमाथि राजश्वप्रशासन कठोर हुने चेतावनीसमेत मन्त्रालयले दिएको हो ।

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कर तिर्नका लागि सहुलियतसहित तय गरिएको पुस मसान्तसम्मको अवधि कुनै पनि हालतमा नबढाइने प्रस्ट पारेका छन् । सरकारी तथा निजीक्षेत्रका प्रतिनिधि सम्मिलित राजश्वसम्बन्धी अन्तरक्रियामा अर्थमन्त्री कोइरालाले तोकिएको मितिमा कर नबुझउनेमाथि राजश्व प्रशासन माघ एकदेखि कठोर रुपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका हुन् । अर्थमन्त्रालयको लक्ष्य एक्लै हासिल हुन नसक्ने जनाउँदै उनले यसमा सघाउन व्यवसायीलाई आग्रहसमेत गरे ।

अर्कातर्फ अर्थमन्त्री कोइरालाले महालेखापरिक्षकको कार्यालय, धितोपत्र बोर्ड, आन्तरीक राजश्ज विभाग लगायतका नियामक निकायका अधिकारीहरुलाई आफ्नो जिम्मेवारी प्रभावकारी बनाउन समेत निर्देशन दिएका छन् । अर्थमन्त्रालय एक्लैले मुलुकको आर्थिक विकास गर्न नसक्ने भन्दै मन्त्री कोइरालाले सरकार, करदाता तथा सेवाग्राही एउटै जहाजका यात्रु भएकाले आफ्नो जिम्मेवारी सबैले पुरा गर्नुपर्ने बताए ।

अन्तरक्रियामा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले सरकारले दिएको सुविधा उपयोग नगर्नु दुखद् भएको भन्दै सधैंभरी सरकारले सुविधा मात्र दिन नसक्ने बताएका थिए । राजश्वको लक्ष्य हासिल गर्नका लागिसमेत सरकारले सहुलियतको सुविधा लिएर करचुक्ता गर्न भन्दै करदाताहरुको ध्यानाकर्षण गराएको हो ।