११ माघ, काठमाडौ । एमाओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व मान्दिन नभनेको प्रस्ट्याउँदै अन्य सांगठनिक क्षेत्रमा शक्ति बाँडफाँड गर्नु पर्ने वताएका छन् ।

 

शुक्रवार आफ्नै निवास सानेपामा प्रचण्डसँगको लन्च बैठकमा उनले पार्टी चलाउन सामूहिक नेतृत्वको अबधारणा बसाल्न चाहेको धारणा राखेका हुन् । लगातार दुईदिनसम्म दुई नेतावीच भएको छलफल सकारात्मक दिशातिर गएको छ । शनिवार र आइतवार फेरि छलफल गरी निष्कर्षमा पुग्ने स्थिति आएको एक नेताले बताए ।

 

भट्टराईले पार्टीमा सकारात्मक सोचसाथ कार्यदिशा कार्यान्वयन गर्ने कुरा गर्दा पद खोजेको आरोपले आफूलाई दुखी बनाएको प्रचण्डसमक्ष बताए । उनले आफूले पदका लागि भन्दा पार्टी बलियो गराउनु एकमात्र स्वार्थ भएको उल्लेख गर्दै अध्यक्ष पद नै ताकेको नठान्न भनेका थिए । भट्टराई निकट नेता देवेन्द्र पौडेलले दुई नेतावीच पार्टीको कार्यदिशा कार्यान्वयनमा केन्दि्रत कुरा भएको जानकारी दिए ।

 

‘बाबुरामजीले अध्यक्षको नेतृत्व मान्दिन भन्नुभएको होइन , उनले भने,’अरु सांगठनिक विषयमा शक्ति बाँडफाँड हुनुपर्छ मात्रै भन्नुभएको हो ।’ उनले दुवै नेतावीच पार्टीको आगामी कार्यदिशा समृद्ध बनाउने विषयमा लगातार छलफल भएको जनाए ।

 

प्रचण्डले पार्टीमा एकाधिकार जमाउन खाजेको चर्चा गतल भएको उल्लेख गर्दै नेतावीच सहकार्यबाट समस्याको समाधान निस्कने जनाए । उनले लामोसमयदेखि दुई नठेताको सहकार्यले नै पार्टी अघि बढेकाले अब पनि आबश्यकता भएको बताए ।

 

‘सामूहिक नेतृत्व पद्धतिबाट पार्टी चलाउने हो,मैले मात्र एकाधिकार जमाउने कुरा होइन, प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,’संघर्ष, रुपान्तरण र एकताबाट पार्टी अघि बढ्छ ।’

 

भट्टराईले केन्द्रीय समिति बैठक बस्नुअघि फेसबुकबाट एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नहुने बताएपछि सम्बन्ध चिसिन सुरू भएको थियो । त्यसपछि उनले दाहाले स्टालिनजस्तो तानाशाही शैली अपनाउन लागेको केन्द्रीय समिति बैटकमा धारणा राखेका थिए । यसबारे दाहालले केन्द्रीय समिति बैटकमा आफ्नो औपचारिक धारणा राख्न बाँकी छ । तर, त्यसअघि उनले केन्द्रीय समिति बैठक स्थगित गरी भट्टराईसँग एक्लै सहमतिको प्रयास थालेका छन् ।

 

दाहाल र भट्टराईबीच संवीधानसभाको बाटोबाट अघि बढ्ने कार्यदिशामा मतभेद नभएकाले शक्ति बाँडफाँडमा मात्र विवाद छ । दाहाल निकट नेताहरुले ‘जसको शक्ति जति छ, उसले त्यति पद पाउनुपर्ने’ अभिव्यक्ति दिएपछि भट्टराई पक्ष झनै असन्तुष्ट बनेको थियो । दाहाल पक्षले भट्टराईले संसदीय दलको नेता खोजेको भन्दै त्यो नदिएपछि विवाद झिकेको बताएको थियो । भट्टराईले आफू दलको नेता हुन चाहेको नभइ पार्टीमा आफ्नो पक्षका नेताको सम्मानजनक पद पाउनुपर्ने प्रस्ताव दाहालसमक्ष राखेको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।