११ माघ, काठमाडौ । टेण्डरमा हुने कमसिनका कारण गुन्डागर्दी मौलाउँदै गएको छ । देशभर ठेक्कापट्टामा गुन्डाका नाइकेहरुको हस्तक्षेप हुने गरेको छ । टेन्डर हात पार्न गुन्डागर्दीमा संलग्न व्यक्तिलाई प्रयोग गरिने भएकाले उनीहरु ठेक्कापट्टामा संलग्न हुँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् । सरकारी, हाइड्रो तथा हाउजिङलगायतको ठेक्कबाट कमिसन नै गुन्डाहरुको कमाइको प्रमुख स्रोत बनेको र त्यही कारण देशमा गुन्डागर्दी बढेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

 

सरकारी टेन्डरले कसरी गुन्डागर्दी र अपराध मौलाउँदै गएको छ भन्ने पछिल्लो उदाहरण डिभिजन सडक कार्यालय ललितपुरले तनि महिनाअघि स्वीकृत गरेको टेन्डरपछिको घटना हो । डिभिजन सडक कार्यालय ललितपुरले स्वीकृत गरेको टेन्डर ललितपुरकै निर्माण व्यवसायीले मिलेर हात पारेका थिए । २२ करोड रुपैयाँबराबरको नेन्डरमा झण्डै दुई प्रतिशत रकम गुण्डागर्दीमा संलग्नलाई छुट्याइएको थियो । गुन्डागर्दी मिलाउने जिम्मा ललितपुरका नाइको मीनकृष्ण महर्जनले लिएका थिए । टेन्डरको पैसामा अर्का डन रमेश बाहुनले पनि आँखा लगाएका थिए । बाहुनले ललितपुर निर्माण व्यवसायी संघका अध्यक्ष सानु मोक्तान रकम मागेका थिए ।

 

मोक्तानले भने महर्जनलाई बाहुनलाई पैसा दिएनन् । त्यही बिषयमा विवाद हुँदा गत शनिबार महर्जनमाथि बाहुनको समूहले गोली प्रहार गरेको थियो । डन कुमार घैटेले हालै आफ्नै नाममा काठमाडौंमा सडक निर्माणको करिब १० करोडबराबरको ठेक्का हात पारेका छन् । अन्य निर्माण व्यवसायीलाई धम्क्याएर उनले टेन्डर हात पारेका हुन् ।

 

भक्तपुरका गुन्डागर्दीका नाइके सगुन श्रेष्ठले पनि भक्तपुरका एक ठेकेदारलाई कमिसन माग्दै निरन्तर धम्की दिइरहेका छन् । डन गणेश लामाले सिरुवा कन्ट्रक्सनमार्फत ठेक्कापट्टा गर्दै आएकोमा आफ्नो नाममा रहेको कम्पनी बेचेर अरुको कम्पनीमार्फत काम गर्दै आएका छन् । अहिले राजनीतिमा लागेका उनको काभ्रे, भक्तपुरमा हुने गरेका निर्माणका टेन्डरमा एक समय राज चल्थ्यो । युथफोर्सका संयोजक रहेका चन्द्र लामा जिविस काभ्रेको टेण्डरमा गुण्डागर्दी गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका थिए । उनी दबाबमा त्यतिबेलै छुटेको समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

 

ई-टेन्डरले गुन्डागर्दी केही कम भए पनि ठेकेदार र गुन्डाका नाइकेबीचको सम्बन्ध भने बलियो रँहँदै आएको छ । ‘स्वस्थ प्रतिष्पर्धामा टेन्डर हात पारे पनि गुण्डागर्दीका नाइकेलाई खुसी नबनाई काम नै गर्न सक्ने अवस्था छ ।’ एक व्यवसायीले भने, ‘गुण्डागर्दीबाट सबैभन्दा धेरै यही क्षेत्र पीडित छ ।’

 

कतिपय निर्माण व्यवसायी टेन्डर हात पार्न गुन्डाहरुसँगै मिल्ने गरेका छन् भने कतिपय पीडित पनि बनेका छन् । निर्माण व्यवसायी संघका अध्यक्ष जयराम लामिछाने देशका सबै क्षेत्रमा गुन्डागर्दी संस्थागत हुँदै गएको बताउँछन् । पछिल्लो समय नेपाल प्रहरीले देशभरि गुन्डागर्दीविरुद्द अप्रेसनको तयारी गरेको छ ।