१५ माघ, काठमाडौ । संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार रहेका उत्तमकुमार वलीमाथि बलात्कारको आरोप लगाइएको छ । एक युवतीलाई बलात्कार गरेको आरोपमा उनीमाथि उजुरी दर्ता भएपछि घटना बाहिर आएको हो ।

 

दाङमा मनी ट्रान्सफरमा काम गर्ने एक युवतीलाई चितवनमा बलात्कार गरेको आरोप पिडित पक्षले लगाएको छ । गत माघ २ गते काठमाडौबाट दाङ फर्किने क्रममा चितवनको कुरिनटारको एक होटेलमा वलीले बलात्कार गरेको पिडित पक्षले आरोप लगाउँदै उनीमाथि कारबाहीको माग गरिएको छ ।

 

पिडित युवतीको परिवारले एमालेको जिल्ला समितिमा समेत उनीविरूद्ध उजुरी दर्ता गराएको बताइएको छ । पिडित युवतीका परिवारले वलिलाई पक्राउ गरी न्यायका लागि पहल गरिदिन एमाले जिल्ला समिति र प्रहरीलाई आग्रह गरेका छन् ।

 

वलीले उक्त घटना सार्वजनिक नगर्न समेत चेतावनी दिएको पिडित युवतीले जनाएकी छिन् । 

वली अमेरिका गइसकेका कारण उक्त उजुरीबारे थप अनुसन्धान रोकिएको प्रहरीको भनाइ छ । दाङका स्थानीय नेताहरूले नै वलीले एमाले केन्द्रीय नेताहरूलाई करोडौ रकम दिएर सभाषद्को उम्मेदवार बनेको आरोप समेत लगाउने गरेका छन् । उनी खुंखार मानव तस्कर भएको आरोप समेत उनीहरुले लगाएका छन् ।