२१ माघ,   भद्रपुर । झापाको भद्रपुरमा एक भारतीय नागरिकलाई स्वचालित पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

 भारतको बिहार, किशनगञ्ज जिल्लाको बाह्रपोखर पुरन्दर बस्ने ३५ वर्षीय वृषलाल सिंहलाई इटालीमा निर्मित लेखिएको स्वचालित पेस्तोल एक थान, म्याग्जिन एक थान र चार राउन्ड गोलीसहित सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 भद्रपुर–१ स्थित गौशाला पोखरी टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरू हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक देवीप्रसाद पौडेलसहितको टोलीले उनलाई पक्राउ गरेको हो ।

    निजको खानतलासी गर्दा पाइन्टभित्र लुकाइराखेको अवस्थामा उक्त हतियार बरामद भएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस