Pro ktm President Bashantapanchami 4२१ माघ,काठमाडौँ, । राष्ट्रपति डा रामवरण यादवले वसन्त पञ्चमीका उपलक्ष्यमा आज स्थानीय वसन्तपुर दरबारस्थित हनुमानढोका नासलचोकमा बिहान ८:३७ बजेको शुभसाइतमा वसन्तश्रवण गरे।

वसन्त ऋतुको आगमनसँगै सरस्वती महात्म्य ‘वसन्तश्रवण’ गर्दा जिब्रोमा विद्याकी अधिष्ठात्री सरस्वतीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । त्यस अवसरमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

हनुमानढोका मन्दिरका पुजारी पण्डित देवराज अर्यालले वसन्तवाचन गर्नुभएको थियो । पण्डित अर्यालबाट राष्ट्रपति, उपराष्ट्रपति, अध्यक्ष रेग्मी, ज्येष्ठ सदस्य थापा, मन्त्रीगणलगायत उपस्थित पदाधिकारीलाई टीका तथा प्रसाद प्रदान गरेका थिए  ।

समारोहमा नेपाली सेनाको टोलीले राष्ट्रपति सम्मान तथा सम्मानगारत प्रस्तुत गरेको थियो । त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र गृह मन्त्रालयका सचिव जनार्दन नेपालले राष्ट्रपतिको स्वागत गरेका थिए ।
समारोहको व्यवस्थापन पुरातत्व विभाग, कौशितोषाखाना कार्यालय, हनुमानढोका दरबार हेरचाह अड्डा र गृह मन्त्रालयले आयोजना गरेको हो ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरूले वसन्तश्रवण गर्ने परम्परा छ ।

श्रीमद्भागवत् महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उनका प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ । रासस