नारायण न्यौपाने
     २७ माघ,अमलेखगञ्ज बारा ।  नेपाली सेनाले बाराको अमलेखगञ्जमा सञ्चालन गर्दै आएको प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम पछिल्लो समय विश्वभरका सेनाहरूका लागि लोकप्रिय प्रशिक्षणस्थल बन्न थालेको छ ।

 

    सैनिक अभ्यासका लागि अनुकूल भौगोलिक संरचना, सुहाउँदिलो वातावरण, गुणस्तरीय पाठ्यक्रम र युद्धअभ्यासमा खारिएका प्रशिक्षकको व्यवस्थाका कारण यो ठाउँले जङ्गलयुद्ध प्रशिक्षणका लागि ख्याति कमाउँदै गएको हो ।

 

    देशमात्र नभएर विदेशबाट समेत यस ठाउँमा युद्धकौशलका नयाँनयाँ तौरतरिका र सैनिक अभ्यासको सैद्धान्तिक एवम् व्यावहारिक प्रशिक्षणका लागि प्रशिक्षार्थीहरू आउने क्रम बढेकाले विदेशी सेनामाझ पनि यो स्थलको लोकप्रियता बढ्दै गएको हो ।Nepal Army training1

    प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयका प्रमुख महासेनानी प्रेमध्वज अधिकारीले जङ्गल, बस्ती, तराई, चुरेपहाडको भौगोलिक संरचना, तालिम दिने तौरतरिकाजस्ता युद्धकलाका लागि आवश्यक वातावरणको उपलब्धताले यसको आकर्षण विदेशमा समेत बढेको छ भन्नुभयो ।

 

    “देश–विदेशका द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर युद्ध लडेका र दुःख भोगेका अनुभवी नेपाली सेनाको प्रशिक्षण लिन पाउँदा खासगरी विदेशीहरू यस्तो कठिन कार्य गर्न सकिन्छ भनेर छक्क पर्छन्, सैद्धान्तिक र व्यावहारिक ज्ञानसहितको उचित पाठ्यक्रमले पनि अभ्यास एवम् प्रशिक्षण कार्यमा यो ठाउँको महत्व बढेको छ”–प्रमुख महासेनानी अधिकारीले भन्नुभयो । विगतको द्वन्द्वमा सिकेको पाठ यो तालिम दिनका लागि अनुभव र ऊर्जा दिएको बताइन्छ ।

 

    बाराको अमलेखगञ्ज गाविसस्थित प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयलमा स्थापनाकालदेखि नै प्रतिविद्रोह तथा जङ्गल युद्धकलाका तालिमहरू सञ्चालन हँदै आएका छन् । प्रतिविद्रोह भन्नाले देशको शासन प्रणालीका विरुद्धमा खडा हुने विद्रोही शक्तिहरूलाई नियन्त्रण गर्ने उपाय हो भने जङ्गल वारफेयर भन्नाले सेनाका युनिट र जवानहरूले जङ्गल क्षेत्रमा बाँच्ने र लड्ने कौशल हो ।

 

     उक्त शिक्षालयबाट स्वदेशी तथा विदेशी गरी हालसम्म १४ हजार ६०४ सैनिकले प्रतिविद्रोह तथा वारफेयरसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरिसकेको सो शिक्षालयले जनाएको छ ।

Nepal Army training1

 

    नेपाली सेनाका अतिरिक्त हालसम्म नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा विदेशी सेना गरी २०८ जनाले समेत उक्त तालिम लिइसकेका छन् ।

 

    नेपाल–भारत सीमा रक्सौलबाट ४० किलोमिटर उत्तर चुरेशृङ्खलामा रहेको सो शिक्षालय क्षेत्रको तापक्रम न्यूनतम १० देखि ३८ डिग्री सेन्टिग्रेड हुने गर्छ । त्यहाँ प्रसिद्ध कामिनी दह पनि छ । शिक्षालयले ११३ बिघाको क्षेत्रफल ओगटेको छ ।

 

    तालिमका अवस्थामा खटिएको क्षेत्रमा जाने क्रममा विद्रोही पक्षबाट हुने हमलाको तत्काल सामना कसरी गर्ने र विद्रोहीहरूले राखेका बाधालाई कसरी बर्बाद गर्ने भन्ने केन्द्रित रहेर यहाँ युद्धका विभिन्न पक्ष र पाटोबारे सिकाइन्छ ।

 

    प्रशिक्षणमा आउने सेनालाई चुरे महाभारत शृङ्खलासहितको सो क्षेत्रका घनाजङ्गलमा एक पटकमा तीन दिनसम्म सीमित खानेकुरा दिएर खटाइने गरिन्छ । एक समूहमा ४० प्रशिक्षार्थी हुन्छन् । सो शिक्षालयमा नेपाल–भारत सूर्यकिरण नामक संयुक्त अभ्यासमा भारतीय फौजले सामूहिकरूपमा तालिम लिइसकेको छ । यस्ता तालिमले सेना र दुई देशबीचको सैन्य सम्बन्धमा उल्लेखनीय योगदान पु¥याउने सेनाले जनाएको छ ।

 

    सो शिक्षालयमा हाल भारत, चीन, पाकिस्तान, श्रीलङ्का र दक्षिण कोरियाका गरी सातजना सैनिक अधिकृत तालिमरत रहेको सेनाले जनाएको छ । पछिल्लो समय विदेशी सेनाबाट उक्त तालिम लिने माग एवम् अभिरुचि निकै बढिरहेको छ ।

 

    यो प्रशिक्षणले आतङ्कवादविरोधी गतिविधि र त्यसको चुनौती सामान गर्न एउटा सेनालाई परिपक्व बनाउँछ । राष्ट्रिय सुरक्षाको दायरा र संवेदनशीलता विश्वव्यापीरूपमा बढिरहेको र सुरक्षा सबैको सरोकारसँग जोडिएकाले पनि यस्ता तालिमको महत्व बढेका हुन् ।

 

    विश्वव्यापीकरण, सूचना प्रविधिको विकास तथा आधुनिक प्रतिस्पर्धी युगमा सुरक्षाको चुनौती सर्वत्र महसुस गरिएको बेलामा युद्धको परम्परागत स्वरूपमा परिवर्तन आएकाले प्रत्यक्ष युद्धको अलावा कूटनीतिक तवरले पनि द्वन्द्व समाधानको उपाय खोज्नुपर्ने अवस्था रहेको नेपाली सेनाका उपरथी भिक्टरजङ्ग राणा बताउनुहुन्छ ।

 

    “पहिले पहिले युद्ध भन्नासाथ विद्रोहीलाई सखाप पार्ने भन्ने थियो तर अहिले समयअनुसार त्यसको स्वरूपमा परिवर्तन आई आक्रमण गर्ने पक्षको समेत उद्धार, अस्पताल पु¥याउनुपर्ने, औषधोपचार गर्नेजस्ता मानव अधिकारको न्यूनतम पक्षलाई पनि ख्याल गर्नुपर्ने हुन्छ,” उपरथी राणा बताउनुहुन्छ ।

 

    सेनाले आफूलाई सुम्पिएको राष्ट्रिय सुरक्षाका अलावा शान्तिसुरक्षा, कानुनी राज्यको पालना, विकास निर्माण, महत्वपूर्ण संरचनाको रेखदेख, प्राकृतिक प्रकोप, उद्धार तथा विपद् व्यवस्थापनमा समेत ध्यान पु¥याउँदै आएको छ ।

 

    खासगरी सञ्चार क्षेत्रले समेत सेनाको जिम्मेवारी, क्षमता, चुनौती र त्यसलाई सामना गर्न आवश्यक तालिम तथा न्यूनतम सैन्य सामग्रीको उपलब्धता छ÷छैन भन्ने बारेमा ख्याल गर्न सके त्यसले अन्ततः राष्ट्रिय सुरक्षालाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।

    नेपाली सेनाले राजधानीबाट प्रकाशित एवम् प्रसारण हुने प्रमुख सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारहरूलाई बाराको अमलेखगञ्ज गाविसस्थित प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयलमा हालै अवलोकन भ्रमण गराएको थियो । सो अवसरमा शिक्षालयका गतिविधि तथा यसको आवश्यकता र औचित्यबारे जानकारी दिइएको थियो । रासस