११ फागुन,गोरखा। पूर्वप्रधानमन्त्री एवम् एमाओवादी नेता डा बाबुराम भट्टराईले आफू निर्वाचित गोरखा क्षेत्र नं १ लाई देशकै नमुना क्षेत्र बनाउने बताउनुभएको छ ।

 

जिल्लाको घैरुङ गाविस–७ स्थित बाँसकोटमा आज आयोजित हिमालय माविको ५३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “गोरखा क्षेत्र नं १ लाई देशकै नमुना क्षेत्रको रुपमा विकास गर्छु, सोही अनुसार म अगाडि बढेको छु ।पहिलो प्राथमिकता बाटोघाटोलाई जान्छ, दोस्रो बिजुली ।” गोरखा–बुङ्कोट–बतासे–मनकामना,गोरखा–बुङ्कोट–बतासे–बेनीघाटलगायतका बाटाहरु केही समयमा नै कालोपत्रे हुने उहाँले बताउनुभयो ।

baburam bhattarai big

बेनीघाटस्थित बुढीगण्डकी नदी माथिको पुल तीन महिनाभित्र निर्माण सम्पन्न हुने बताउँदै उहाँले यसै वर्षदेखि मकैसिङको बुट्टारमा पक्की पुलको निर्माण थालनी गरिने बताउनुभयो । बुढी गण्डकी परियोजना दुई वर्षपछि काम सुरु हुने बताउँदै उहाँले भन्नुभयो, “परियोजना सम्पन्न भएपछि यस क्षेत्रका विकासमा कायापलट हुनेछ । ” शिक्षा क्षेत्रका विकासका लागि सबै विद्यालयमा पूरा दरबन्दी कायम गर्न र पर्याप्त भौतिक संरचनाका लागि आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।

 

अर्को एक प्रसङ्गमा नेता भट्टराईले दुई हप्ता हुँदा पनि सरकारले मन्त्रिमण्डल गठन गर्न नसक्नु दुर्भाग्य भएको बताउनुभयो । ‘‘काँग्रेस र एमालेले लुकेर पिडालुको घिउ र काठको तरबार साटेकाले दुवै जिल्लिएको’’ उहाँको भनाइ थियो । एमाओवादी आकारमा सानो भएपनि संविधानमा एमाओवादीकै प्रभाव कायम रहने पनि नेता भट्टराईले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद ढकालले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । रासस