३ चैत, एजेन्सी ।

भारतमा आम आदमी पार्टीका संयोजक अरविंद केजरीवाल भारतीय जनता पार्टीका प्रधानमन्त्री पदका उम्मीदवार नरेन्द्र मोदीसँग चुनाव लड्ने भएका छन् । केजरीवालले उत्तर प्रदेशको वाराणसीबाट चुनाव लड़ने घोषणा गरेका छन् । शनिवारमात्र भाजपाले सोही क्षेत्रबाट नरेन्द्र मोदीको उम्मीदवारी घोषणा गरेको थियो ।

arvind-Modi

अरविन्द केजरीवालले बैंगलोरमा आयोजित एक कार्यक्रममा विजेपीका नरेन्द्र मोदीलाई हराउने उद्घोष समेत गरेका छन् । मोदीसँग चुनाव लड्ने चुनौती आफूले स्वीकार गरिसकेको केजरीवालले बताएका छन्  ।

पार्टीले आफूलाई बनारसको टिकट दिइसकेको र २३ मार्चमा बनारसमै पुगेर जनताको राय लिएपछि मात्र मोदी विरुद्ध औपचारिक उम्मेदवारी दिने उनको भनाइ छ ।

आम आदमी पार्टीले आफ्ना कार्यकर्तालाई बारणसी पुग्ने निर्देशन दिइसकेको छ ।

आम आदमी पार्टीका सञ्जय सिंह र मनीष सिसोदियाले केजरीवाल मोदीसँगै चुनाव लड्नु पर्ने बताएका छन् ।

केजरीवालले गत विधान सभा निर्वाचनमा पनि दिल्लीका मूख्य मन्त्री शिला दिक्षितको सिटबाट उठेर उनलाई हराउने उद्घोष गरेका थिए । उनको उद्घोषलाई काँग्रेश र दिक्षितले सामान्यरुपमा लिएपनि चुनावका क्रममा भने केजरीवालले दिक्षीतलाई भारी मतले पराजित गरेका थिए ।

उता प्रधानमन्त्रीका उम्मेदवार रहेका मोदीलाई आफ्नो क्षेत्रमा उम्मेदवार बनाएपछि भाजपाका कार्यकर्तामा पनि उत्साह छाएको   छ ।

धार्मिक क्षेत्र बारणसीबाट कुनै पनि प्रधानमन्त्रीको उम्मेदवारले चुनाव लड्न लागेको यो पहिलो पटक हो ।