नेपाल मजदुर किसान पार्टीले कोरियाली कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न आग्रह गरेको छ । राजधानीमा सम्पन्न नेमकिपाको छैठौ महाधिवेशनले अन्तराष्टिय प्रस्ताव पारितगर्दै कोरिया द्वन्द समाधान गर्न आग्रह गरेको हो ।


नेमकिपाले पारित गरेका प्रस्ताव यस्ता छनः
अन्तर्राष्ट्रिय प्रस्ताव
१) कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न दक्षिण कोरियामा तैनाथ अमेरिकी सेना र हतियार अविलम्ब फिर्ता गर्नुपर्ने, प्रजग कोरियासितको अमेरिकी साम्राज्यवादको शत्रुतापूर्ण नीति अन्त्य गरी युद्ध विराम सम्झौतालाई स्थायी शान्ति सम्झौतामा परिणत गर्नुपर्ने, ६ दशकभन्दा अघिदेखि प्रजग कोरिया र कोरियाली शैलीको समाजवादविरुद्ध लगाइएको अमेरिकी आर्थिक नाकाबन्दी तत्काल हटाउनु पर्ने, अमेरिका र दक्षिण कोरियाको संयुक्त युद्ध अभ्यास तत्काल बन्द गर्नुपर्ने, विनाबाहिरी हस्तक्षेप दुई कोरियाको पुनः एकीकरणको मार्ग प्रशस्त गर्नुपर्नेमा यो महाधिवेशन पुनः जोड दिन्छ ।

SouthKoreanorthKorea fighting
२) समाजवादी देश क्युवाविरुद्ध अमेरिकी साम्राज्यवादले ६ दशकभन्दा अघिदेखि लगाउँदै आएको आर्थिक नाकाबन्दी तत्काल हटाउन र पाँच क्युवाली देशभक्त युवालाई अमेरिकाले सुराकीको आरोप लगाउँदै बन्दी बनाएकोमा यो महाधिवेशन विरोध एवं निन्दा गर्दछ । सं.रा. अमेरिकामा अझै बन्दी बनाइएका बाँकी ३ जना युवालाई अविलम्ब रिहा गर्नुपर्नेमा यो महाधिवेशन पुनः जोड दिन्छ ।

३) मुख्यभूमि चीनबाट तिब्बतलाई अलग्याउन भारत आश्रयमा बसेका दलाई लामालाई अमेरिकी साम्राज्यवादले आर्थिक एवं भौतिक सहयोग गर्दै चीनविरोधी गतिविधि गर्दै आएकोमा यो महाधिवेशन विरोध एवं निन्दा गर्दछ र एक चीन नीतिलाई दृढताका साथ समर्थन गर्दछ ।

४) सोभियत जनतासित मित्रता र ऐक्यबद्धताका लागि अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष एवं ध्रुवतारा अँग्रेजी मासिकका सम्पादक कामरेड माइकल लुकासले केही समययता अस्वस्थ हुनुभएकोले यो महाधिवेशन उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

५) अमेरिकी साम्राज्यवादले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, विश्व व्यापार संगठनलगायत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु  मार्फत् नेपालको राजनीति, आर्थिक र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा प्रभाव पार्दै आएको र केही समयअघि नेपाल आएका अमेरिकी विदेशमन्त्रीले काठमाडौंमा नेपाल सरकारलाई जानकारी नगराई तिब्बती शरणार्थीहरुसँग भेटघाट गरेको र तिब्बतबाट भागेर आएकाहरुलाई नेपालमा शरणार्थीको रूपमा स्वीकार नगरे आर्थिक सहयोग रोक्ने धम्की दिएर नेपालको सार्वभौमिकतामा हस्तक्षेप गरेको हुंदा यो महाधिवेशन विरोध एवं निन्दा गर्दछ ।

६) अमेरिकी साम्राज्यवादले नेटो सेनाको सहयोगमा आतंकवाद नियन्त्रण गर्ने निहुँमा अफगानिस्तानमा आक्रमण गरेको, इराकमा आक्रमण गरी त्यहाँका नेता सद्दाम हुसेनको हत्या गरी तेल खानी कब्जा गरेको, लिबियामा पनि आक्रमण गरी त्यहाँका नेता मुअम्मर गद्दाफीको हत्या गरी तेल खानी कब्जा गरेको र केही वर्षयता सिरियाका कथित विद्रोहीहरुलाई सहयोग गरी राष्ट्रपति अस्सादलाई अपदस्थ गर्न अमेरिका लागिपरेको छ । सार्वभौम र स्वतन्त्र देशमाथि अमेरिकाको दादागिरी र आक्रमणको यो महाधिवेशन विरोध एवं निन्दा गर्दछ ।

७) मानव जातिको दुःख, अशान्ति र युद्धको कारक पूँजीवाद एवं साम्राज्यवाद हो । पूँजीवादी व्यवस्थाको असफलताकारण युरोप र अमेरिकालगायत पूँजीवादी देशहरुमा आर्थिक संकट र बेरोजगारी समस्या बढ्दो छ । मानव जातिको कल्याण र उन्नति समाजवाद र साम्यवादले मात्र गर्नेछ । यो महाधिवेशन पूँजीवादको अन्त्य र समाजवादको स्थापनाको अपरिहार्यतालाई पुनः जोड दिन्छ ।