२६ चैत, काठमाडौ । अर्थमन्त्री डा रामशरण महत पानी, सरसफाइ तथा स्वास्थ्यका लागि उचित लगानी विषयक उच्चस्तरीय बैठकमा भाग लिन आज संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीतर्फ प्रस्थान गरेका छन ।

 

वासिङटन डिसीस्थित विश्व बैङ्कको प्रधान कार्यालयमा आगामी शुक्रबार हुने सरसफाइ तथा पानीसम्बन्धी बैठकमा भाग लिएर मन्त्री डा महत मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आगामी वैशाख २ र ३ गते हुने एवम् प्रभावकारी विकास सहायताका लागि विश्वव्यापी साझेदारी बैठकमा भाग लिन त्यहाँबाट मेक्सिको प्रस्थान गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

 

Ramsharan mahat

उक्त मन्त्रालयका अनुसार पहिलोपटक हुन लागेको साझेदारी बैठकमा मन्त्री महतले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न अन्तर्राष्ट्रिय वातावरण सबल बनाउने तथा सन् २०१५ पछिको विकास कार्यसूचीलाई ठोस, समावेशी तथा कार्यमुखी बनाउनुपर्ने आवश्यकतामा जोड दिनेछन् ।

 

मुलुकमा भर्खरै नयाँ सरकार गठन भएको सन्दर्भमा नेपालको आर्थिक तथा वैदेशिक सहायताको प्राथमिकताका विषयमा समेत द्विपक्षीय तथा बहुपक्षीय सहायता सम्बन्धमा अन्य देशका उच्च अधिकारीहरुसँग मन्त्री महतले छलफल गर्ने कार्यक्रम छ ।

 

मन्त्री महतका साथ अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र सोही महाशाखाका उपसचिव भुवन कार्की हुनुहुन्छ ।

 

मन्त्री महतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ सचिव शान्तराज सुवेदीलगायत अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले बिदाई गरेका थिए । रासस