२७ वैशाख, धादिङ । खोरिया पाखामा बसोबास गर्दै खाद्यान्न सङ्कट व्यहोर्दै आएका दक्षिणी धादिङको महादेवस्थान गाविस वडा नं ३ ब्रुसबाङमा जमिनमुनि फल्ने स्याउखेती सुरु गरिएको छ ।

 

पृथ्वीराजमार्गको मलेखुबाट एक दिनको पैदलदुरीमा रहेको ब्रुसबाङमा यस किसिमको स्याउ फल्ने भएकाले सो गाउँमा भुइँ स्याउ लगाइएको हो ।

 

जमिनमुनि फल्ने स्याउखेतीका बारेमा जानकारी पाए एक संस्थाले चेपाङ समुदायलाई ४०० वटा बिरुवा उपलब्ध गराएर भुइँमा फल्ने स्याउखेतीका लागि सहयोग गरेको हो ।

 

chepang

चेपाङ समुदायकोे मात्र २७ परिवारको बसोबास रहेको ब्रुसबाङमा तीन महिना मात्र आफ्नो उत्पादनले खान पुग्छ । बाँकी समय यो गाउँमा चरम खाद्य सङ्कट हुुने गरेको स्थानीय सिद्धिबहादुर चेपाङले बताए ।

 

माटोमुनि फल्ने यो स्याउको बोट सूर्यमुखी फूलको जस्तै हुने र रोपेको एकै वर्षमा फल दिने भएकोले चेपाङ गाउँका लागि अति उपयोगी हुने बताइएको छ ।

 

माटोमुनि फल्ने सखरखण्ड र लहराका रूपमा फल्ने स्कुसको जरा जस्तै जमिनमुनि फल्ने, यो स्याउ बोक्रा ताछेपछि स्वादिलो स्याउ जस्तै हुन्छ ।

खर्रबुजा, स्याउ र गाजरको जस्तो मिश्रित स्वाद रहने भुइँ स्याउ सखरखण्ड जस्तो देखिन्छ ।

 

यसले पत्थरी, मधुमेह, कमलपित्त, कब्जियतलगायतका समस्या हुनेलाई धेरै फाइदा पुग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।