१५ असार, इलाम ।

 इलामबाट दूध लिएर विराटनगरतर्फ गइरहेको दुग्ध विकास संस्थानको ट्यांकरले मोटरसाइकललाई आज दिउँसो २:३० बजे ठक्कर दिँदा मोटरसाइकल चालक लक्ष्मीपुर–४ चुङबाङका ‘दुर्गा’ भनेर चिनिने चन्द्र गौतमको घटनास्थलमै मृत्यु भएको छ ।

 

 दूध लिएर विराटनगरतर्फ जाँदै गरेको मे १ज ५७३ नं को ट्यांकरले सोही दिशातर्फ गइरहेको मे ३ प ४२६६ नं को मोटरसाइकललाई कोल्बुङ–२ मा  ठक्कर दिँदा उनको मृत्यु भएको हो ।  गौतम पाथीभरा मन्दिरमा दर्शन गरेर झापातर्फ फर्कदै थिए  ।

 

 घटनापछि उक्त स्थानमा केहीबेर राजमार्ग अवरूद्ध भए पनि अहिले बाटो पुनःसञ्चालन भइसकेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक अनुपमशम्शेर जबराले नेपाली हेडलाइन्सलाई जानकारी दिए । ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।