२३ साउन, म्याग्दी ।

 

घरमा आमाबाबुको निगरानीमा रहनुपर्ने बालबालिकाले उल्टै अभिभावकको बानी–व्यवहारमा परिवर्तन ल्याई अरू धेरैका लागि सकारात्मक सन्देश दिएका छन् ।

 

जिल्लाको बेनी नगरपालिकालगायत अन्य तीन गाविसका बाल विकास केन्द्रमा रहेका ६५ भन्दा बढी बालबालिका अहिले आफ्ना अभिभावकका लागि मार्गदर्शक बनेका छन् । उनीहरुले घरपरिवार र विद्यालयमा मात्रै होइन समाजमा नै अविश्वसनीय परिवर्तन ल्याएका बालजागृति प्रावि बगुवाखोलाका प्रधानाध्यापक भक्त कार्कीले बताउँछन् ।

 

उनका अनुसार आफ्ना छोराछोरीको करले गर्दा अभिभावकहरु धुम्रपान, मद्यपानलगायत दुव्र्यसनी त्याग्नुका साथै पारिवारिक जिम्मेवारी पनि सम्हाल्न थालेका छन् । आफ्ना बाबुआमालाई चर्पीमा दिसापिसाब गर्न र साबुनले हात धुन पनि सिकाउने गरेका छन् ।

 

“बालबालिकामा आएको परिवर्तन देख्दा आश्चर्य लाग्छ”– प्रअ कार्कीले भने–“सामाजिक कार्यका लागि जनश्रमदान गर्न, फाल्तु खर्च कम गरी बचत गर्न र आफूजस्तै बालबालिकालाई अनिवार्य विद्यालयमा भर्ना गराउनसमेत कर गर्छन् यी बालबालिका ।”
 

“आफ्नै छोराछोरीले सिकाउन थालेपछि अभिभावकलाई पनि लाज लाग्दोरहेछ र उनीहरु सुध्रन बाध्य हुँदा रहेछन्”–कार्की भन्छन् ।  जिल्लामा करिब २०० बालविकास केन्द्र रहेका जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।