neeta-dhungana

८ भदौ , काठमाडौं :

 

प्रेमपीडाका कारण नायिका नीता ढुंगानाले विष सेवन गरिन् । विचरा बुबाआमाले के गरून् ? हतार–हतार लगे हस्पिटल ।

 

जीवनमरणको दोसाँधको अवस्थामा पनि नीता प्रेमपीडामै तड्पिरहेकी थिइन् । होस् फर्किएपछि पनि उनी आमाबाबुलाई प्रेमीबारे सोध्दै थिइन्– संगीत आएन ? बुबाआमाले भने, ‘यो मायाको भुलभुलैयामा नलाग ।’ नीतालाई भेट्न हस्पिटल पुगेका सोहित मानन्धर भन्दै थिए– कसले कति माया गर्छ, यसबाटै थाह हुन्छ ।

 

शनिबार सुन्धारास्थित काठमाडौं भ्याली हस्पिटलको आइसियू कक्षमा सुटिङ भइरहेको फिल्म भुलभुलैयाको ९१औँ दृश्यमा अभिनय गर्दै थिए नीता ढुंगाना, लक्ष्मी गिरी (आमा), मोहन निरौला (बाबु) र सोहित मानन्धर । अनि निर्देशन गरिरहेका थिए– योगेश घिमिरे । क्यामेरा ट्रलीमा थियो । खिचिरहेका थिए– बाबु श्रेष्ठले ।

 

‘यो फिल्मको क्लाइमेक्सतिरको दृश्य हो । यसको दुई सिनपछि फिल्म दी इन्ड हुन्छ,’ निर्देशक योगेशले भने, ‘फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ । डिजिटल प्रविधिको अत्यधिक उपयोग गरेका छौँ ।’ सो सिनमा अभिनेता जीवन लुइँटेल चाहिने भए पनि उनी आइनसकेकाले ‘पछि मिलाउने’ सुर निर्देशकले बनाए ।

 

अहिले खिचिएको दृश्यको सिक्वेन्सबारे उनले भने, ‘प्रेमपीडाका कारण नायिकाले विष सेवन गर्छिन् । उनले खोजेको संगीत पनि यहाँ आएको हुन्छ । तर, सबै कुरा बुझेपछि ऊ नभेटिकन जान्छ । त्यसपछि के हुन्छ, सस्पेन्स †’ त्यसपछिको घटनाक्रम भने निर्देशकले खुलाउन चाहेनन् । बरु भने, ‘सबै कथा खुलाएर त मजै आएन नि ।’

 

विष सेवनले अशक्त बनेकी नीता भने सट नहुँदा मोबाइल चलाइरहेकी हुन्थिन् । सोहित भने डाइलग याद गर्नमै व्यस्त थिए । बिरामीको अभिनय गरेर हस्पिटलकै बेडमा सुतिरहँदा कस्तो महसुस भएको छ त नीतालाई ? ‘हस्पिटलकै बेड, नाकमा अक्सिजन, वरपर कुरुवा, मलाई त साँच्चै बिरामी नै छुजस्तो पो लागेको छ त,’ नीताले भनिन्, ‘अभिनय गर्दा पनि कतिकति वेला त साँच्चै नै पो हो कि भन्ने लागेको छ । ओ माई गड, रियलमा यस्तो दिन कहिल्यै नआओस् ।’

 

कार्यकारी निर्माता नीरज ढकालले १५औँ दिनको सुटिङ चलिरहेको बताए । ‘सुटिङका लागि हस्पिटल मिलाउन निकै गाह्रो,’ उनले भने, ‘त्यसैले आज रातिसम्म भए पनि यो लोकेसन प्याकअप गर्नुपर्नेछ ।’ हालसम्म फिल्मको ३५ प्रतिशत सुटिङ सकिएको निर्देशक घिमिरेले जानकारी दिए । यसभन्दा अघि योगेशले नीरजको निर्माणमा तिमी मात्र तिमी फिल्म निर्देशन गरेका थिए । ‘हामीबीच राम्रो ट्युनिङ छ । त्यसैले अहिले संयुक्त रूपमा फिल्म निर्माण गरिरहेका छौँ,’ दुवैले भने ।

 

भुलभुलैयाको प्रस्तुतकर्ता दिनेशकुमार पोखरेल हुन् भने निर्मातामा सुशील कार्की, सुरेश गौतम र मणिराज दाहाल छन् । आरुष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्म नीता, सोहित र जीवन लुइँटेलको त्रिकोणात्मक प्रेमकथामा छ ।