२५ असोज, ओस्लो ।

 

शुक्रबार नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने सबैभन्दा कम उमेरकी व्यक्तित्व बन्नुभएका पाकिस्तानकी मलाला युसुफजईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस पुरस्कार साझेदारी गरेपछि शान्तिका लागि उच्चस्तरीय पाइला लिनुभएको छ ।

MALALA

बेलायतको बरमिनघम विद्यालयमा रसायनशास्त्रको कक्षामा उक्त पुरस्कार प्राप्त गरेको समाचार सुन्नुभएका सत्र वर्षीया यी शिक्षाका कार्यकताले पटकपटक युद्धमा गएका भारत तथा पाकिस्तानका प्रधानमन्त्रीलाई डिसेम्बर महिनामा ओस्लोमा आयोजना हुने पुरस्कार वितरण समारोहमा सहभागिताका लागि आमन्त्रण गर्नुभएको छ । यस समारोहमा उहाँले भारतका ६० वर्षीय कार्यकर्तासँगै पुरस्कार प्राप्त गर्नुहुनेछ ।

मलालाले पुरस्कार प्राप्त भएको समाचारपछि पनि कक्षा छोड्नुभएन र कक्षापछि आयोजित एक पत्रकार सम्मेलनमा उहाँले यो पुरस्कार सबै आवाजहीन बालिकाका लागि भएको र र उनीहरूको आवाज सुन्नु आवश्यक भएको बताउनुभयो ।

सन् २०१२ मा पाकिस्तानको स्वात उपत्यकामा उहाँको घरनजिकै तालिवानले टाउकोमा गोली हानेपछि उपचारका लागि बेलायतमा ल्याइनुभएका मलाला हाल यहाँ बसोबास गर्नुहुन्छ । यहाँ उहाँ विद्यालय जानुहुन्छ र बालिकाको शिक्षाका लागि वकालत गर्नुहुन्छ ।

कम उमेरका व्यक्तिले नोबेल पुरस्कार प्राप्त गरेकोमा उहाँ प्रमुख समाचारका विषय बन्नुभयो भने यसैबीच भारत तथा पाकिस्तानबीच विवादको विषय बनेको कश्मीरमा यस दशकमा सबैभन्दा नराम्रो हिंसाबीच १७ व्यक्तिको मृत्युभएको कुरा पनि मुख्य समाचारको विषय बनेको छ ।

उहाँले सहविजेता तथा बालश्रमविरुद्धका कार्यकर्ता सत्यार्थीप्रति श्रद्धा व्यक्त गर्दै यस महत्वपूर्ण समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी समकक्षीलाई आफूहरूको विजय उत्सव मनाउन कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्नुभयो ।

नर्वेको नोबेल समितिले उहाँहरूले बाल तथा युवाको दमनविरुद्ध तथा बालकको शिक्षाको अधिकारका लागि गर्नुभएको सङ्घर्षका लागि यो पुरस्कार प्रदान गर्न छनौट गरिएको जानकारी दिएको छ ।

पुरस्कार समितिले मलाला बाहदुरीपूर्वक सङ्घर्षबाट बालिकाको शिक्षाका लागि प्रमुख प्रवक्ता बन्नुभएको उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनका लागि मञ्चमा पुग्न एउटा बाकसको सहारा लिनुभएका यी नवयुवाले नोबेलले आफ्नो परीक्षामा तथा दुई साना भाइसँग विवाद गर्न सहयोग नगर्ने बताउनुभयो । उहाँले आफ्नो पखेटा नबाँधिदिएकोमा आफ्ना बाबुप्रति पनि भावपूर्ण श्रद्धा व्यक्त गर्नुभयो ।

मलालाले सम्मानित पुरस्कार प्राप्त गरेकोमा उहाँको गृहनगर मिङ्गोरामा नाचगान तथा मिठाइ बितरण गरी खुसी मनाइएको छ ।

मलालासँगै विद्यालयमा पढ्ने आयासा खालिदले यो पुरस्कार मलालाले मात्र जितेको नभइ पाकिस्तानले जितेको र मलाला आफूहरूको आँखाको प्रकाश तथा मुटुको आवज भएको बताइन् ।

उनले मलालाले विद्यालयलाइ विस्फोट गराएर शिक्षा बन्द गर्न सकिन्न भन्ने प्रमाणित गरिदिएको पनि उल्लेख गरिन् ।

मृत्युसँग सङ्घर्षपछि मलाला अन्तर्राष्ट्रिय तारा बन्नुभएको छ । सन् २०१३ को जुलाइमा संयुक्त राष्ट्र सङ्घको महासभामा सबैले उठेर उहाँप्रति सम्मान व्यक्त गरेपछि उहाँले आफूलाई कहिल्यै चुप लगाउन नसकिने बताउनुभयो ।

उहाँ यसै महिना क्यानडा जानुहुने र त्यहाँको मानार्थ नागरिक बन्नुहुने प्रधानमन्त्री स्टिफन हार्परले बताउनुभयो । उक्त जानकारी नोबेल पुरस्कार घोषणा भएपछि दिइएको हो ।

मलालालाई क्यानडाले एक वर्ष अगाडि मानार्थ नागरिकको सम्मान दिएको हो र अक्टोबर २२ मा उहाँले उक्त नागरिकता प्राप्त गर्नुहुने जानकारी प्रधानमन्त्री हार्परले दिनुभयो ।

यसअघि दलाइ लामा, नेलसन मन्डेला र आङ सान सु की पनि यस मुलुकको मानार्थ नागरिक बन्नुभएको छ । रासस,एएफपी