२५ असोज, काठमाडौं ।

बारामा सशस्त्र प्रहरी र स्थानीयबासीबीच हिंसात्मक भिडन्त भएको छ । झडपमा १ जनाको ज्यान गएको छ । अवस्था तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु समेत लगाएको छ । 

सिम्रनगढस्थित हरिहरपुर–५ मा शशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप हुँदा एक जनाको ज्यान गएको हो । कलैया सिम्रौनगढ सडक खण्ड मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका हरिहरपुर–५ वासी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागी हरिहरपुर–७ नयाँ टोलका ४० बर्षीय जयराम पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रहरीको गोली लागी हरिहरपुर–६ का साह मोहमद अन्सारी गम्भिर घाईते भएका छन् । उनको कलैयामा उपचार भइरहेको जनाइएको छ । प्रर्दशनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् ।

AFP

झडपमा केहि प्रहरी समेत घाईते भएका छन् । प्रदर्शन रोक्न प्रहरीले दर्जनौ राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

 

स्थानीयको प्रर्दशनपछि तनावग्रस्त बनेको सिम्रनगढमा थप मद्धतका लागि सिमा सुरक्षा कार्यलयवाट शशस्त्रको प्रहरी टोली त्यहाँ पुगेको थियो । कलैया सिम्रौनगढ सडक खण्ड मर्मतको माग गर्दै स्थानीयले केहि दिन यतादेखि यातायात अवरुद्ध गरि प्रदर्शन गर्दै आएका थिए ।

 

करिब तीन महिना अगाडि सिम्रौनगढ सडक खण्ड मर्मत गर्नुपर्ने भन्दै जिल्ला विकास समिति बारालाई जानकारी गराएपनि सडक मर्मत नगरेपछि बस व्यवसायी संघ बाराले यातायात ठप्प पार्दै विरोधमा उत्रिएको थियो ।

अवस्था नियन्त्रण बाहिर जाने खतरा बढेपछि प्रशासनले दिउसो २ बजे देखि साँझ ६ बजे सम्मका लागि निषेधाज्ञा कर्फ्यु जारी गरेको छ ।