२६ असोज, एजेन्सी ।

बंगालको खाडीमा उठेको चक्रवाती तूफान भारतको दक्षिण पूर्वी तटीय क्षेत्रसम्म पुग्ने पूर्वानुमानमा पाँच लाख जति मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । हुदहुद नामको उक्त चक्रवाती तूफान मध्यान्हतिर शुरुमा आन्ध्र प्रदेशस्थित तटीय इलाका विशाखापट्नम पुग्ने मौसम विभागको अनुमान छ ।

केही घण्टादेखि १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उक्त चक्रवात आन्ध्रप्रदेश तर्फ आइरहेको छ । केही बेरअघिसम्म उक्त चक्रवात विशाखापट्नम पुग्न करिव एक सय किलोमीटर बाँकी थियो । चक्रवातका कारण समुन्द्री लहर तीस मिटर उचाईसम्म उठ्ने छ ।

 

विशाखापट्नम पुग्नु अघि चक्रवातको तीव्रता लगातार बढ्नेछ । समुन्द्री तटमा ठोक्किएपछि भने त्यसको शक्तिमा कमि आउने बताइएको छ । चक्रवातका कारण प्रतिघण्टा दुई सय किलोमिटर गतिको वेगमा हुरीवतास चल्न सक्ने अधिकारीहरुले जनाएका छन्।चक्रवातले ओडिसालाई पनि प्रभावित गर्ने बताइएको छ । समुन्द्री तूफानसँग जुध्न सबै तयारी भएको अधिकारीहरुले जनाएका छन ।

 

मौसम विभागले आँधीबेरीका कारण विजुली र टेलिफोनका खम्बा तथा रुख र कच्चि घरमा क्षति पुग्ने अनुमान गरेको छ र सम्भावित खतरालाई ध्यानमा राख्दै चेन्नई र भुवनेश्वरबीचको रेल सेवा बन्द गरिएको छ । ती क्षेत्रहरुमा सयौं उद्धार केन्द्रहरु खोलिएका छन्, जहाँ निशुल्क खाना, पानी र बसोबासको व्यवस्था गरिएको छ । सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।

india-cyclone

जल सेनाको पूर्वी कमाण्डले पाँचवटा हेलिकोप्टर र डुंगाहरु सहित चौविसै घण्टे उद्धार टीम तयारी अवस्थामा राखेको छ । बीबीसी का अनुसार सन् १९९९ मा यस्तै आँधी आउँदा दश हजारको ज्यान गएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी तयारी समीक्षा गर्न शनिबार अबेर दिल्लीमा आपतकालीन बैठक गरेका थिए ।