१ कात्तिक, खोटाङ ।

वर्षाका कारण अवरुद्ध भएको पाँच महिनापछि खोटाङको खानीडाँडा विमानस्थलमा उडान सुचारु भएको छ ।  

 

  गत असार १५ गतेदेखि अवरुद्ध भएको मनमायाँ राई खानीडाँडा विमानस्थलमा शनिबारदेखि नियमित उडान सुरु भएको हो ।     वर्षाको भलबाढीले बनाएको खाल्डाखुल्डी पुर्नुका साथै मौसममा सुधार आएपछि नेपाल वायुसेवा निगमले नियमित उडान भर्न थालेको स्टेसन इन्चार्ज यादवसेन राईले जानकारी दिए । राईका अनुसार हरेक हप्ताको मङ्गलबार र शनिबार काठमाडौँ–खानीडाँडा–काठमाडौँ र मङ्गलबार विराटनगर–खानीडाँडा–विराटनगरका लागि उडान हुनेछ ।

 

  सदरमुकाम दिक्तेलदेखि सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा उडान सुरु भएपछि जिल्ला अस्पताल खोटाङबाट पठाउने बिरामीका लागि सहज भएको छ ।   यसअघि अस्पतालले पठाएका बिरामीलाई चर्को मूूल्यमा हेलिकप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता थियो । कालोपत्रको कामसमेत हुँदै गरेको उक्त विमानस्थलमा कामलाई अवरोध नपुग्ने गरी उडान भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए । उनले भने, “जिल्लावासीको समस्यालाई मध्यनजर गर्दै हप्ताको तीनपटक उडान राखिएको छ ।”

 

जिल्लामा लामीडाँडा, थामखर्क र खानीडाँडा विमानस्थल सञ्चालनमा छन् । यीमध्ये सबैभन्दा नजिक खानीडाँडा विमानस्थल रहेको छ । रासस