४ पुस, काठमाडौँ ।

प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको सो प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

nepal-volleyball-team

खेलको पहिलो सेटमा खासै राम्रो प्रर्दशन गर्न नसकेको नेपालले दोस्रो र तेस्रो सेटमा भने उत्कृष्ट प्रर्दशन गर्‍यो । नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–१९, दोस्रो सेट २५–११ र तेस्रो सेटमा २५–१३ ले पराजित गर्न सफल भयो । त्यस्तै यसअघि सेप्टेम्बरमा घरेलु मैदानमा नै भएको मैत्रीपूर्ण खेलमा पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।

दक्षिण एसियास्तरीय प्रतियोगितामा भने नेपालले आठ वर्षपछि पहिलोपटक सहभागिता जनाएको हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा सम्पन्न दशाँै साग खेलकुद प्रतियोगितामा नेपालले भाग लिएको थियो । त्यतिबेला नेपाली महिला भलिबल टोलीले नेपाललाई कास्यपदक दिलाएको थियो ।

खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक सुदिसकुमार रिमालले खेलको पहिलो सेटमा नेपाली टोलीवीच तालमेल नमिले तापनि खेलको दोस्रो र तेस्रो सेटमा उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गर्दै नेपालले रजत पदक जित्नेमा विश्वस्त भएको बताए ।

त्यस्तै नेपाली टोलीकी कप्तान विनिता बुढाथोकीले प्रतियोगितामा पहिलोपटक म्याटमा खेलेकोले केही समय असहज भएता पनि पछि राम्रो खेलेको बताउँदै आगामी खेलमा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै माल्दिभ्सका प्रशिक्षक इब्राहिम जालीले नेपाली टिम स्ट्रोङ भएकाले पनि नेपालको जित सहज भएको टिप्पणी गर्नुभयो । नेपालले आफनो दोस्रो खेल भोलि दिउँसो ४ बजे बङ्गलादेशको सामना गर्नेछ ।

शुक्रबार देखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एक कार्यक्रमबीच गरे । कार्यक्रममा उनले भलिवल खेलको विकासको लागि आप्mनोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे । रासस