४ पुस, नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको मुम्बईमा सन् २००८ मा भएको आतङ्ककारी हमलाका एकजना दोषीलाई पाकिस्तान सरकारले तारिखमा छोडेको समाचारले आफू र आफ्नो देशलाई स्तब्ध बनाएको बताएका छन् ।

पाकिस्तान सरकारले बिहीबारमात्र त्यहाँको एक सशस्त्र सङ्गठन लस्कर ए तोएबाका लडाकू ज्याकी उर रहमान लख्भीलाई सामान्य तारेखमा छोडेको थियो ।

Modi fails in 6 points

सो समाचारले आफूलाई दुःखी बनाएको भन्दै प्रधानमन्त्री मोदीले त्यसका लागि पाकिस्तानलाई कडा सन्देश पठाइएको बताए ।

मुम्बईमा भएको हमलाका बारेमा भारतले गरेको अनुसन्धानमा मुख्य कमाण्डरमध्येको एकजना उक्त व्यक्ति पनि रहेको पत्ता लागेको भारतले बताउँदै आएको थियो ।

 

उक्त व्यक्तिलाई पाकिस्तान सरकारले पक्राउ गरेको भए पनि बिहीबार सामान्य तारेखमा छोडिदिएको थियो । त्यस घटनाको भारतले विरोध गरेको छ ।

पाकिस्तानमा दुई दिनअघि तालिवानहरुले गरेको आक्रमणबाट बालबालिका मारिएको घटनाले निकै दुःखी तुल्याएको समयमा पाकिस्तान सरकारतर्फबाट यो अर्को समाचार आउनुले पनि आफूलाई नराम्रो लागेको उनले बताए ।

प्रधानमन्त्री मोदी शुक्रबार भारतीय संसद्को तल्लो सदन लोकसभामा बोल्दै थिए । उनले पाकिस्तानका तर्फबाट गरिएको यस कामलाई ज्यादतीको सङ्ज्ञा दिँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार त्यस विषयमा विस्तृत जानकारी गराउने बताए ।

मुम्बई घटनामा लुखाभीको संलग्नताका बारेमा प्रमाण नपुगेको भनी पाकिस्तान सरकार तर्फबाट दिइएको अभिव्यक्ति विश्वास गर्न योग्य नरहेको आज नै विदेशमन्त्री स्वराजले बताएकी थिइन् ।

पाकिस्तान सरकारले लुखाभीमाथि अनुसन्धान गरिएको तर उनको सो मुम्बई घटनामा सम्लग्नताको बारेमा केही पत्ता नलागेको जानकारी दिएको थियो । रासस÷सिन्ह्वा