६ पुस, काठमाडौ । 

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा संविधान बनाउनका लागि सत्तारुढ दलले फराकिलो छाती बनाउन सुझाव दिनुभएको छ ।

Prachanda sitting on sofa

आज साँझ नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा विगतमा सहमति र सम्झौतालाई आत्मसात् गर्ने कि नगर्ने भन्ने विषयले नै संविधान लेखन प्रक्रिया सङ्कटको भूमरीमा फसेको भन्दै तत्काल विश्वासको वातावरण बनाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री सुशील कोइरालाको सन्देश बोकेर अध्यक्ष दाहाललाई भेट्न उनको निवास लाजिम्पाट पुगेका महामन्त्री सिटौलासँग भएको कुराकानी उदृत गर्दै एमाओवादीका केन्द्रीय सदस्य समेत रहेका चूडामणि खड्काले भने ‘‘ पेलैर जाने हो कि सहमति गर्ने हो बल तपाइँहरूको कोर्टमा छ , तत्काल निर्णय गर्नुस् भनेर अध्यक्षले कुरा राखेको बताए ।’’

अध्यक्ष दाहालको जिज्ञासामा महामन्त्री सिटौलाले सहमतिको विकल्प नभएकामा आफूहरू प्रतिबद्ध रहेको, वार्ता र सम्वादबाटै विवादित विषयमा सहमति खोज्नुपर्नेमा कटिबद्ध रहेको बताएका थिए ।

प्रमुख तीन दलको शनिबार बिहानको बैठकमा एकोहोरो प्रक्रियाको कुरा गरेकाले वार्ता गर्नुको कुनै अर्थ नभएको भन्दै बाहिरिएको एमाओवादीको शीर्ष नेतृत्व र काँग्रेसका महामन्त्रीबीचको पछिल्लो सम्वादले पुनः विश्वासको वातावरण तयार पार्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष दाहाल र महामन्त्री सिटौलाको छलफल पछि सोमबार प्रमुख दलबीच संविधानका विवादित विषयमा पुनः सम्वाद सुरु हुने विश्वास लिइएको छ ।