२ माघ, बेइजिङ ।

चीनमा सन् २०१४ मा मात्र कम्तीमा पनि एक लाख चार हजार एचआइभी एड्सका सङ्क्रमित थपिएका छन् ।
सो समाचार शुक्रबार चिनियाँ सरकारी समाचार संस्थाहरुले सार्वजनिक गरेका छन् । उनीहरुका अनुसार चीनमा एचआइभी एड्सको सङ्क्रमण दर बढ्दो मात्रामा रहेको छ ।
विश्वमा अन्यत्र एचआइभीको सङ्क्रमण घटिरहेका बेला चीनमा भने बढ्दो मात्रामा रहेको पाइएको पनि समाचारमा जनाइएको छ ।
चिनियाँ अधिकारीहरुका अनुसार सन् २०१३ को तुलनामा गतवर्ष नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा १४ प्रतिशतले बृद्धि भएको हो ।

china aids victims
चिनियाँ पत्रिका बेइजिङ टाइम्स्ले चिनियाँ अधिकारीरुलाई उद्धृतगर्दै दिएको समाचारमा सो तथ्याङ्क देखाइएको छ ।
चीनका स्वास्थ्य अधिकारीले त्यहाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जानकारी गराएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले गत महिना दिएको तथ्याङ्कमा चीनका पाँच लाखभन्दा बढी व्यक्ति एड्सको सङ्क्रमण लिएर बाँचिरहेको जनाएका थिए ।
तर त्यहाँ दशौँ हजार व्यक्ति यसका सङ्क्रमित भएको अनुमान गरिएको भएपनि उनीहरुको पहिचान गर्न भने नसकिएको बताइएको थियो ।
एचआइभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएनएड्सले सन् २०१२ मा दिएको जानकारीमा चीनमा नयाँ एड्स सङ्क्रमितको सङ्ख्या घट्दो रुपमा रहेको थियो ।
सन् २०१२ मा उक्त संस्थाले ३९ हजारमात्र नयाँ सङ्क्रमित भेटिएको जनाएको थियो । तर त्यसको तुलनामा सन् २०१३ मा बढेको थियो भने सन् २०१४ मा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत नै बढी देखिएको जनाइएको छ ।
चीनको एचआइभी एड्स नियन्त्रणसम्बन्धी केन्द्रले गतवर्ष नै कम्तीमा पनि आठ लाख १० हजार एड्स सङ्क्रमित रहेको अनुमान गरेको थियो ।
उक्त सङ्ख्यमा सन् २०१४ मा नयाँ एकलाख भन्दा पनि बढी प्रभावित थपिएका छन् । त्यसैले चीनमा एड्सको प्रकोप बढ्दो मात्रामा देखिएको सरकारी अधिकारीहरुले नै जनाएका छन् ।
चीन विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । त्यहाँको जनसङ्ख्या करिब एक अर्ब ३६ करोड रहेको छ ।
चीनमा एड्सका सङ्क्रमितहरुलाई राम्रो व्यवहार नगरिने तथा हेयको भावले हेर्ने र उपचारमा सरकारी प्राथमिकताका कार्यक्रमहरुको कमीका कारणले पनि यस्तो अवस्था आएको बताइएको छ । रासस÷एएफपी