२१ माघ, काठमाडौं ।

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफू युद्धका लागि हिडेको भन्दै कार्यकर्तालाई सँगै आउन आग्रह गरेका छन् । एमाओवादीको मध्य कमाण्ड स्तरिय विशेष प्रशिक्षणलाई काठमाण्डुमा सम्बोधन गर्दै नेता भट्टराईले भने ‘म ६० पुगेर ६१ वर्षमा लागेको मान्छे झोला बोकर पश्चिम हिडे तपाई पनि आउनुस, काठमाण्डौंमा फागुन १६ गते भेटौंला ।’

‘२० वर्ष अघि २०५२ साल आजकै दिन म संयुक्त जनमोर्चाको संयोजकको नाताले ४० सुत्रीय माग राखेर अन्तिम वार्ताका लागि सिंहदरवार छिरेको थिए, तर हाम्रा माग सुरुवाई भएन । अनि जनयुद्ध शुरुभयो, कार्यक्रममा झण्डै डेढ घण्टा ढिलो पुगेका भट्टराईले भने, २०५२ साल फागुन २८ गते झोला बोकेर पश्चिम हिडेको थिए, आज फेरी अर्को झोला बोकेर फेरी पश्चिम लागे ।’

Baburam mic

हतार हतार कार्यक्रममा आएर बोलेपछि भट्टराईले भन्दै सबैसँग हात मिलाए, अभिवादन गरे, सबैले परररर तालि पिटे अनि भावकु हुँदै भने ‘म फेरी हिडे ।’ आन्दोलनकै मोर्चामा भेटौंला । कार्यकर्तालाई प्रशिक्षण दिँदै भट्टराईले १५ हजार ले बलिदानी दिएर ल्याएको संविधानसभा प्रतिगामीको हतियार भएको बताए । २०४७ सालकै संविधानलाई लाहाछाप लगाएर जारी गर्ने प्रयत्न भएको भट्टराईको भनाई छ ।

माघ ११ गते संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संवैधानिक कू गरेर संविधानसभाको आत्मा मारेको भन्दै भट्टराईले आत्मा मारेको संविधानसभालाई जनताको पक्षमा ल्याउने अन्तिम अवसर रहेको बताए । कांग्रेस एमाले सहजै सहमतिमा आउने सम्भावना नभएको भन्दै उनले पुरानै जोश र शक्तिका साथ आन्दोलनमा लाग्न कार्यकर्तालाई आग्रह गरे । पार्टी बिग्रको प्रसंग कोट्टयाउँदै भट्टराईले भने ‘जति बिग्रपनि बाघको बच्चा बाघ नै हुन्छ, स्याल कहिल्यै हुँदैन । कांग्रेस एमाले स्यालभन्दा हामी माथि नै छौैं ।’ जीवन र मरणको संघर्ष शुरु हुन लागेको भन्दै उनले पहिले जनयुद्धकै बल निकाल्न पनि आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस एमालेले आन्दोलनको बलमा प्राप्त उपलब्धी धर्मनिरपेक्षता, संघीयता र समानुपातिक निमर्वाचन प्रणाली उल्टाउने खेलमा लागेको आरोप लगाए । उनले आफूहरु जातीय राज्यको पक्षमा नभएको र जातीय सदभाव खल्बलाउने गरी आफूहरुमाथि लगाइएको आरोप भएको बताए ।

महासचिव कृष्ण बहादुर महराले पार्टी एकता तत्काल सम्भव नभए पनि बर्ग दुष्मनमाथि एउटै प्रहार गर्ने गरी मोहन बैद्य र नेत्र विक्रम चन्द नेतृत्वका माओवादीसँग पनि सहकार्य गर्ने गरी कुरा भइरहेको बताए । स्थाई समिति सदस्य जनार्दन शर्माले अवको आन्दोलन पहिलेजस्तो रमाइलो गर्ने गरी नहुने भन्दै आक्रामक हुन कार्यकर्तालाई निर्देशन दिए ।