एजेन्सी ।

भारतमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई झट्का दिँदै अरबिन्द केजरीवालको आम आदमी पार्टी आपले प्रचण्ड बहुमत प्राप्त गरेपछि अव प्रधानमन्त्री मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालबीच टकराव हुन सक्ने अनुमान गरिएको छ । हुन त मोदीले केजरीवाललाई बधाइ दिएर हरसम्भव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् तर उनीसँग केजरीवालको कडा टक्कर पर्ने भारतीय विश्लेषकहरुको अनुमान छ ।

modi vs kejariwal 3

यहाँ भारतीय मिडिया विश्लेषणमा आधारित रहेर मोदी र केजरीबालबीच हुन सक्ने झगडाका ५ विषयको चर्चा गरिएको छः

१ पुलिस

केजरीवाल मुख्यमन्त्री हुन लागेको दिल्ली राज्यको पुलिस कमाण्ड भने केन्द्र सरकार अर्थात मोदीसँग छ । केजरीवालले अघिल्लो ४९ दिने कार्यकालमा कतिपय पुलिस अधिकारीलाई कारवाहीको माग गर्दै धर्ना समेत बसेका थिए । केजरीवालले दिल्ली पुलिसलाई राज्य सरकार मातहत ल्याउन माग गर्दै आएका छन् । यो विषयमा मोदी र केजरीवालमा टकराव पर्न सक्ने अनुमान गरिएको छ ।

२ पानी

केजरीवालले कब्जा गरेको दिल्लीको पानी हरियाणा राज्यमा निर्भर गर्छ । हरियाणामा मोदीको पार्टीले सरकार चलाइरहेको छ । हरियाणाले अव दिल्लीले पानीको ब्यवस्था आफै गर्नु पर्ने चेतावनी दिइसकेको छ । यदि यो झगडा बढ्यो भने केजरीवाल र मोदी आमने सामने हुनेछन् । र मोदीले चर्चामा ल्याएको यमुना नदीको सफाइ पनि झगडाको विषय बन्न सक्छ ।

modi vs kejariwal

३ जमीन

दिल्लीमा जमिन पनि केन्द्रीय शहरी विकाश मन्त्रालय मातहत छ । आम आदमी पार्टीले आफ्नो घोषणापत्रमा दिल्लीमा २० नयाँ कलेज खोल्ने घोषणा गरेको छ जसका लागि जमिन चाहिने छ र यो जमीनका लागि मोदीको मन्त्रालयबाट अनुमति लिनु पर्ने छ । यस्ता परियोजना शुरु गर्दा नै मोदीको अनुमति चाहिने हुँदा केजरीवाल र मोदीको हरेक पटक आमने सामनेको अवस्था आउने छ ।

४ पूर्ण राज्यको माग

दिल्ली र केन्द्र सरकारबीच दिल्लीलाई पूर्ण राज्य बनाउने विषयमा टकराहट रहँदै आएको छ । केजरीवालले पनि यो मागलाई चर्काउने निश्चित छ । जसका कारण मोदी र केजरीवालबीच टकराव हुन सक्छ ।

५ जकलोकपाल विधेयक

केजरीवाल भ्रष्टाचार विरोधी अभियानबाट उदाएका ब्यक्ति हुन् । उनले दिल्लीमा भ्रष्टाचार नियन्त्रण सम्बन्धि जनलोकपाल विधेयक पास गरेर मोदी सरकारलाई पठाउनु पर्ने छ । यो विधेयक केन्द्रबाट स्वीकृत हुने कि नहुने भन्ने विषयमा पनि केजरीवाल र मोदीको कडा टकराव हुने सम्भावना रहेको विश्लेषकहरु बताउँछ्न् ।

 

यो पनि हेर्नुस् 

केजरीवालसँग मोदी पराजयका १० कारण

नेपालमा छैनन् केजरीवाल ?

मजाक बने मोदी (फोटो फिचर)