Sharwan Bomjan

श्रवन बोम्जन   

मेरा कतिपय मित्रहरूले मलाई बुवाआमाको धर्म बेचेर खाईस् भन्छन् । मलाई अचम्म लाग्छ कि मैले कुन धर्म बेचेको कुरा गर्दैछन् उनीहरू ? हरेक मानवतामा हुने धर्मलाई किन्न र बेच्न मिल्छ र ? मैले मेरो बुवाआमाको धर्म बेच्नलाई त्यो कुनै बस्तु हो र ? खोस्न मिल्ने कुनै भौतिक तत्व हो र ? मेरो मनमा घरीघरी उठेको प्रश्न यो हो कि कुन आधारमा म बुवाआमाको धर्म बेच्ने ठहरिएँ ?

यदि ईश्वरमाथि गरिने विश्वास र आस्थालाई नै धर्म भनिन्छ भने, र कसैले बुवाआमाले मानिआएको ईश्वर छोडेर आफ्नो आत्मकेन्द्रित बाटोमा लाग्छ भने, यसको इनामस्वरुप तिनीहरूलाई धर्मपरिवर्तनकारी वा धर्मबेचुवाको उपनाम दिईने हो भने, मेरा ती तमाम प्रश्नकर्ता मित्रहरूलाई सोध्नको निम्ति मसँग पनि एउटा प्रश्न छ । म एउटा नास्तिकको छोरो ख्रीष्टियान हुँदा कुन धर्मपरिवर्तन भयो ?

मेरो बुवा ख्रीष्टियान होइनन् । तर पनि आजसम्म मैले मेरो बुवाको निधारमा कहिल्यै रातो टीका देखेको छैन । मन्दिरमा गएर पुजा गरेको देखेको छैन । मेरो बुवा जनयुद्धकालको माओवादी कार्यकर्ता हुनुहुन्थ्यो । मलाई अझैं पनि सम्झना आउँछ, त्यसबेला उहाँ शोषक, सामन्तीको विरुद्धमा बन्दुक उठाउनु नै मेरो धर्म हो भन्नुहुन्थ्यो । शोषणमा परेकालाई उद्धार गर्नु र गरिबको उन्मुक्तिको निम्ति लड्नु नै मुक्ति पाउनु हो भन्नुहुन्थ्यो ।

म सानो छँदा यो ईश्वरलाई पुजा गर भनेर मलाई मेरो बुवाले कहिल्यै सिकाउनुभएन । मेरो बुवाले पुजेको ईश्वरलाई मैले कहिल्यै पछ्याएको थिइन । उहाँको ईश्वर त बन्दुक थियो । उहाँले पाउने मुक्तिको निश्चयता त युद्धमा लडेर कसैको प्राण लिनु अनि आफू जिउनुमा थियो ।

आज म इसाई आस्थामा येशूमा शरण लिएर, मेरो बुवाले अपनाएको बाटोभन्दा फरक बाटोलाई अंगालेर हिंड्दा म धर्मपरिवर्तनकारी भएँ ? बुवाआमाको धर्म बेच्ने भएँ ?

यदि मैले पनि मुक्तिको लागि बन्दुक उठाएको भए र बुवाको धर्म जोगाउन युद्धको मैदानमा निस्केको भएचाहीं म धर्म जोगाउने हुने थिएँ, हो र ? तपाईंहरू त परिवर्तन चाहने हरेकलाई डलरमा बिकेका भन्न र स्वेच्छाले आफ्नो आस्थामा लागेकाहरूलाई देश बेच्ने, आमा बेच्ने भनेर आफैं तमासा बन्नुभएको छ ।

यदि मलाई धर्मपरिवर्तनकारी भन्नुहुन्छ भने, कहिल्यै परिवर्तन नभएको तपाईंको धर्म ल्याएर दिनुहोस् मलाई । दिन मिल्ने र लिन मिल्ने धर्म तपाईहरूसँग भए ल्याउनुहोस् । मेरो बुवाआमाको धर्म मैले कसैलाई बेचेको प्रमाण भेटेमा आएर मलाई कानुनि कठघरामा उभ्याउनुहोस् । कानुन बमोजिम मलाई सजायँ दिइयोस् ।

जब म ८ वर्षको थिएँ, सैन्यदल र दंगा पुलिसको हुलले मेरो घरलाई खरानी बनाउँदा पनि मेरो बुवाआमाले कुनै ईश्वरलाई पुकारेको मैले सुनिंन । रात रात जङ्गलमा दौडेको याद छ मलाई, र पनि त्यहाँ धर्म र कुनै ईश्वरको आशालाई खोजेको झिनो शंका पनि गर्न सक्ने आस्तिकता देखिन मैले ।

मैले मेरो परिवारले पुजाको थाली बोकेर मन्दिर गएको कहिले पनि देखिन । तथापि हाम्रो गणना हिन्दूअन्तर्गत नै पर्दथ्यो । दशैं आउथ्यो मासु खाइन्थ्यो, तिहार आउंथ्यो टीका लगाइन्थ्यो । तर हामीलाई कुन भगवानको आचरण थाहा थियो र ? मेरो परिवारले कुन देउताको गुणलाई जानेको थियो र ? कुन धर्मग्रन्थ पढेर बुझ्न पाएका थियौं र हामीले ? ईश्वरलाई नजान्ने मेरो परिवार भित्रबाट राजिखुशिले म ख्रीष्टियनमतमा जिउँदा डलरमा बिकेको भएँ ?

आदरणीय मित्रहरू! एक जमाना यस्तो थियो, यो देशका हरेकलाई हिन्दू भनिन्थ्यो । तर आज यो सम्भावना टुंगिएको छ ।
गणतन्त्रको उदयसँगै हरेकले आफ्नो जिउने अधिकार र स्वतन्त्रताको निम्ति आवाज उठाउन थालेका छन् । तपाईंहरू भन्नुहुन्छ हिन्दू नभए आमा बेच्ने, धर्म बेच्ने, डलरमा बिक्ने ।

यदि ख्रीष्टियनमत अपनाउँदा डलर पाउने भए, १६ वर्षको उमेरमा १९ वर्षको नागरिता बनाएर खाडी देशमा म किन भाँडा मस्काउन जान्थें होला र ? साँच्चै डलर पाउने भए पशुपति र रत्नपार्कको सडकपेटिमा बस्नेहरू, ५० रुपैंयामा अरूको भाग्य देखाउन छोडेर आफ्नै भाग्य बनाउन ख्रीष्टियन हुदैन थिए र ? के एउटा टपरी बोकेर रोडमा धुलो खाएर बस्नुको सट्टा डलर कमाउन आउने थिएनन् र ? तपाईंहरू हिन्दुत्व मात्र यो देशमा हुनुपर्छ भन्ने मनसायमा हुनुहुन्छ । त्यसैले अरूको आस्थालाई पैसा खाने, धर्म बेच्ने, आमा बेच्ने भनेर आलोचना गर्न छोडनुभएको छैन ।

ख्रीष्टियानहरूलाई डलरमा बिक्ने भनेर आरोप लाउने गरेको कुरालाई म पनि स्वीकार गर्छु । तर दोष लगाउने, तपाईंहरूको भाषामा होइन । हो छन् केही त्यस्ता फटाहाहरू पनि हाम्रो समुदायभित्र; जसले पैसाको खेती गरिरहेका छन् । तिनीहरूलाई त हातको औंलाले गन्न सकिन्छ । तर सिङ्गो ख्रीष्टियानहरूमाथि लगाइने लान्छनालाई म स्वीकार गर्दिन । यसो त मन्दिरमा पनि बर्सेनि अरबौं रुपैयाको भ्रष्टाचार हुन्छ; के हिन्दू धर्मले भ्रष्टाचार गर्यो भन्नू उचित हुन्छ र ? कि मन्दिरमा काम गर्ने फलानोले भ्रष्टाचार गर्यो भन्नू उचित हुन्छ ?

पैसा खानेहरूलाई, पैसामा राज गर्नेहरूलाई मन्दिर र चर्चबाट सफा गर्न चहानुहुन्छ ? आउनुहोस्, एउटा अभियान सुरू गरौं, हामी साथ दिन तयार छौं । तर हामीमाथि लागेका नक्कली आरोप सहन हामी तयार छैनौं । हिन्दुत्व स्वीकार नगर्ने हरेकलाई दोष लगाउन हामी छोड्दैनौं भनेर तपाईंहरू भन्नुहुन्छ भने, तपाईंहरूको बिवेकले सस्तो ज्ञान कमाएको कुरालाई नकार्न सकिँदैन ।

सामाजिक संजालमा इसाईहरूका पोष्टहरूमा कमेन्ट गर्ने हिन्दू भन्नेहरूमध्येका ९८% ले छाडा कुरा लेख्ने, अश्लिल फोटो पोस्ट गर्ने, अनि मुनिपट्टी जय हनुमान, जय राम, जय हिन्दू लेखेको हुन्छ । तपाईंहरूले त्यसरी अश्लिल शब्द, तस्विर पोष्ट गरिरहँदा तपाईंको भगवानलाई खुशी लाग्छ होला र ? म ग्यारेन्टी दिन्छु कुनै त्यस्तो क्रिश्चियन देखाउनुहोस् जस्ले हिन्दू पोस्टहरूमा अश्लील कुरा लेख्छ र पोस्ट गर्छ । यदि तपाईंहरूले देखाउन सक्नुभएन भने तपाईंहरूलाई लाज हुनुपर्ने हो । देखाउन सक्नुहुन्छ भने त्यसको बारेमा लेख्नुस्, बोल्नुस्, हामी सहन्छौ । नत्रता किन अरूलाई बिरोध गर्ने बहानमा आफ्नो भगवानको बदनाम गर्नुहुन्छ ?

बाइबललाई मैले आफुले बुझ्ने भाषामा पढ्न पाएको छु । यहि ईश्वरशास्त्र मैले पढें । यसलेनै मलाई उपदेश दिन्छ । यसकै माध्यमबाट मैले ख्रीष्टियनमत पक्रेको छु । मेरो जीवनको मोक्षको निम्ति म इसाई आस्थामा तल्लिन भएर जिउंछु । मेरो स्वेच्छाले । कसैले यहाँ मेरो आत्मिक आकांक्षाको हत्या गर्न खोज्छ भने त्यो मूर्ख हो । मेरो इच्छाले आफ्नाएको आस्थामा म मोहित भएर जिउंछु । यो मेरो अधिकार हो ।

प्रिय मित्रहरू, परिवर्तन गर्न मिल्ने धर्मको बिरोध गर्नुहोस् । तर परिवर्तन नै नहुने धर्मको कसरी बिरोध गर्नुहुन्छ ? मेरो बुवालाई मनपर्ने कुनै भगवान थिएन । मनपर्ने कुनै मन्दिर थिएन । उसैको छोरा आत्मा शान्ति र आत्मारुचिले डोर्याइएर ख्रीष्टियान मतमा जिउंदा, कुन धर्मपरिवर्तन भयो ? कम्युनिष्टको छोरा ख्रीष्टियान हुदा कुन धर्मपरिवर्तन भयो ? नास्तिकको छोरा आस्तिक हुँदा कुन धर्मपरिवर्तन भयो ?

समाजमा मिलेर रहौं । शान्ति स्थापित गरौँ ।