काठमाडौं ।

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काग्रेस र नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले पूर्वराजासँग काँग्रेस र एमालेको गोप्य सहमति भएकाले त्यसको भण्डाफोर हुनुपर्ने बताएका हुन् । ‘काग्रेस–एमालेले ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेका छन्,’ यादवले भने,‘पूर्वराजासँग विगतमा के सहमति भएको हो त्यसको खुलासा हुनुपर्छ ।’

upendra taadav muskan

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले गणतन्त्र स्थापनापूर्व बेबि किङ, सेरेमोनियल किङको विषय काँग्रेस र एमालेले उठाउने गरेकाले गोप्य सहमति भएको बुझ्न सकिने आरोप लगाए ।

पहिलो संविधानसभाको बैठकबाट गणतन्त्र घोषणा गर्ने सवालमा कांग्रेस–एमालेले आनाकानी गरेकाले विगतमा भएको साँठगाँठ पुष्टि भएको उनले दावी गरे । कम्युनिष्ट पार्टीको महासचिव भएर माधवकुमार नेपालले प्रधानमन्त्रीका लागि दरबारमा निवेदन दिने देखि दाम चढाउनेसम्म गरेबाट साँठगाँठ प्रष्ट भएको बताउंदै यादवले भने‘ के सहमति गरेका थिए भन्ने ज्ञानेन्द्र शाहले खुलासा गर्नुपर्छ ।’