१३ फागुन, काठमाडौं ।

एम्नेष्टी इन्टरनेशनलले नेपालमा मानवअधिकारको अवस्था चिन्ताजनक रहेको बताएको छ । काठमाण्डूमा पत्रकार सम्मेलन गरी सन् २०१४÷१५ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विगतका वर्षभन्दा केही सकारात्मक भएपनि सन्तोष गर्ने ठाउँ नभएको एम्नेष्टीको ठहर छ । एम्नेष्टीका अध्यक्ष सूर्यबहादुर अधिकारीले सम्भावित गैर न्यायीक हत्या, मानव बेचबिखन, लैंगिक हिंसा र याताना एवं दुब्र्यवहार लगायतका घटनामा उजुरी दर्ता एवं अनुसन्धान गर्न र त्यस्ता घटनाका सम्बन्धमा अदालतले दिएका आदेशहरुको पालना गर्न प्रहरी विफल भएको बताए । जसका कारण मानव अधिकार हननका घटनामा जवाफदेहिता तथा न्याय सत्य र परिपूरणमा पीडितहरुको अधिकारलाई नराम्रोसँग वेवास्ता गरिएको उनको भनाई थियो ।

तराईमा सशस्त्र समूहका गतिविधि केही घटेर गएको भएपनि लामो समयदेखि कायम रहेको दण्डहिनताको अपसंस्कृतिका कारण प्रहरी निकायबाट हुने मानव अधिकार उलंघनका घटनाहरु भइरहेको एम्नेष्टिको ठहर छ । जसका कारण घटनाम ासंलग्नहरु विरुद्ध उजुरी दर्ता गर्न, अनुसन्धान गर्न प्रहरी असहफल भएको एम्नेष्टिको निष्कर्ष छ ।

Amnesty International Nepal

एम्नेष्टीका नेपाल निर्देशक रामेश्वर नेपालले दण्डहिनता बढिरहेको, विभेदले निरन्तरता पाएको, तराईको अवस्थामा पनि सुधार नआएका लगायतका कारणले नेपालमा मानव अधिकारको अवस्था सुध्रन नसकेको भन्दै चिन्ता व्यक्त गरे । अधिकारीले राजनीतिक इच्छा शक्तिको कमिका कारण राष्ट्रिय मानव अधिकार आयोगलाई कमजोर पारिएको, विगत र वर्तमानमा भएको मानव अधिकार हननका घटनाहरुमा दण्डहिनताको अवस्था विद्यमान रहेको, लैंगिक, जातीय, वर्गिय, उत्पिडन निरन्तर रहेको स्वेच्छाचारी, गिरफ्तारी, यातना र गैर न्यायीक हत्या वर्षैभरी भैरहेको बताए ।

एम्नेष्टिले विश्वभर सबैभन्दा बढी साना हतियारका कारण मानव अधिकार हननको अवस्था खतरनाक रहेको बताएको छ । एम्नेष्टिका अनुसार विश्वभर साना हतियारका कारण दैनिक दुई हजारको ज्यान जाने गरेको छ । विश्वभरका एक करोड ४० लाख शरणार्थी मध्ये ४० लाख सिरियाका मात्र रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शसस्त्र समूहले कम्तिमा पनि ३५ देशमा मानव अधिकार ज्यादती गरेको र यो संख्या एम्नेष्टीले अनुसन्धान गरेका देशहरुमध्ये २० प्रतिशत रहेको बताएको छ । सिरियामा भएको द्धन्द्धका कारण विस्थापित भएका ४० लाख शरणाथीमध्ये ९५ प्रतिशत छिमेकी देशमा आश्रय लिएका छन् । १६० मध्य ६२ देशका सरकारले शान्तिपूर्ण रुपमा आफ्नो अधिकार र स्वतन्त्रता उपयोग गर्ने व्यक्तिलाई आस्थाकै आधारमा बन्दी बनाएको पनि प्रतिवेदनले स्पष्ट पारेको छ । जसमा जर्वजस्ती अखवारहरु बन्द गराउने र प्रेस स्वतन्त्रतामा हमला गर्ने, पत्रकारलाई धम्की दिने जस्ता काम पनि भएका छन् ।

सन २०१४ मा एम्नेष्टि इन्टरनेश्नलले विश्वका १६० देश र भूभागमा भएका मानव अधिकार हननका घटनालाई दस्तावेजमा संकलन र अनुसन्धान गरेको थियो । तर केही क्षेत्रमा केही सुधार देखिए पछि अधिकांश मानिसहरुका हकमा भने मानव अधिकारको अवस्था झन खराव हुँदै गएको पाइएको बताएको छ ।