४ साउन, राजविराज । नेपाल प्रहरी केन्द्रीय श्रीमती संघले सप्तरीका १९ घर परिवार बाढी पीडितलाई मङ्गलबार राहत वितरण गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको प्राङ्गणमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष सीमा अर्यालले उक्त राहत वितरण गरे ।

गत असार १७ गते पूर्वी पहाडी तथा सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट अति प्रभावित सप्तरी तिरहुत गाउँपालिका–२ र ५ नम्बर वडाका १५ घर परिवार र कञ्चनरुप नगरपालिका–९ मा आएको बाढीबाट पीडित चार घर परिवारलाई श्रीमती संघकी केन्द्रीय अध्यक्ष अर्यालले राहत वितरण गरेका हुन ।

प्रत्येक घर परिवारलाई दुई केजीका दरले सख्खर, पाँच केजी चिउरा, लुगा धुने र नुहाउने साबुन, आल्मुनियमको खाना पकाउने भाँडा, प्लाष्टिकको बाल्टिन, ब्ल््यांकेट, सुतीको गम्छा, तन्ना, सुपानेट झुल, सुतीको साडीलगायतका सामग्री वितरण गरेको बताइएको छ ।

विभिन्न खोला र नदीमा आएको बाढीबाट सप्तरीमा एक हजार ५०० घर डुबानमा परेका थिए । रासस