२ असोज, काठमाडौं ।

निर्वाचन आयोगले मतदान सकिए लगत्तै मतगणनाको तयारी थालेको छ । मतदान लगत्तै मतपेटिका संकलन हुने र दलहरुबीचको सहमतिमा आजै बेलुकीदेखि मतगणना हुनेछ ।

त्यसका लागि आवश्यकता अनुसार एउटा तहमा ११ वटासम्म टोली गठन गर्ने र पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

सबैभन्दा बढी मतदाता रहेको एक मात्र विरगञ्ज महानगरपालिकामा ११ वटा टोली गठन गरी मतगणना शुरु गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मतगणनालाई सहज र छिटो सम्पन्न गर्नका लागि आयोगले सहयोगी भूमिका निर्वाह गर्न र सानातिना कुरामा पनि ठूलो विवाद नझिक्न राजनीतिक दल र तीनका प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

मतगणना स्थलको व्यवस्था गर्न र प्रत्येक मतदाताको मतको पूर्ण सुरक्षा हुनेगरी सुरक्षा प्रबन्ध मिलाउन यसअघिनै सरकारलाई निर्देशन दिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।