३ जेठ, काठमाडौं ।

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई सरकारले सहिद घोषणा गरेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा घटनामा मृत्यु भएका पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी गराएका हुन् ।

२०७३ फागुन २३ गते एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको कार्यक्रमका क्रममा कार्यक्रमस्थल नजिक प्रहरीसंगको झडपमा गोली लागि पाँचजनाको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । आजै गृहमन्त्री निधिले सहिद परिवारलाई प्रति परिवार १० लाखका दरले राहतस्वरुप रकम हस्तान्तरण गरेका छन् ।

मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको जानकारी दिए । आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने पनि मन्त्री निधिले बताए ।