३० जेठ, बाँके ।

आम हडतालको उलंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले नेपालगञ्जमा तोडफोड गरेका छन् । उनीहरुले नेपाली कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा अवरोध पनि गरेका छन् ।

राजपाका कार्यकर्ताले हडतालको उलंघन गरेको भन्दै कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवारको गाडिमा पनि तोडफोड गरेका प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूहरुका माग सम्बोधन नगरी चुनाव गर्न लागिएको भन्दै राजपाले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसअन्तर्गत आज तराईका जिल्लामा आम हडताल गरिएको छ । हडतालको विभिन्न जिल्लामा आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

शिक्षण संस्था, कलकारखाना, यातायातका साधन आशिंक मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ । राजपाले भने तराई बन्दको पूरै प्रभाव परेको दावी गरेको छ ।