१४ मंसिर, एजेन्सी ।
अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न सबै मुलुकसँग आग्रह गरेको छ । दुई महिनापछि उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाको पछिल्लो चेतावनी आएको हो ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न चिन लगायतक मुलुकलाई आग्रह गरेकी हुन । उनले पछिल्लो आणविक परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको पनि जानकारी दिइन ।

पछिल्लो परिक्षणपछि सुरक्षा परिषदले बोलाएको आपतकालिन बैठकमा हेलीले अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया “नराम्ररी ध्वस्त“ हुने चेतावनी पनि दिइन । हेलीले उत्तर कोरियाको कामले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको बताएकी छिन् । उत्तर कोरियाले बुधबार परिक्षण गरेको क्षेप्यास्त्र चार हजार चार सय पचहत्तर किलोमिटर उचाइमा पुगेको बताएको छ । जुन ‘इन्टरनेशनल स्पेस स्टेशन’ को भन्दा दश गुणा माथि हो ।

त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्न सक्ने क्षमताको छ । उत्तर कोरियाको दावी प्रमाणित भएको छैन । विज्ञहरुले त्यस्तो प्रविधिमा उत्तर कोरियाको दक्षताबारे शंका व्यक्त गरेका छन । तर उत्तर कोरियाका नेता किम जोङ उनले क्षेप्यास्त्र परिक्षणलाई “त्रुटिरहित“ र “ठूलो उपलब्धि“ भनेका छन् । अन्तर्राष्ट्रिय समुदायले भने परिक्षणको भत्र्सना गरेका छन् ।