Prachanda-baburam-narayan१५ पुष, काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई अप्ठ्यारो पार्नेगरी राजनीतिक प्रतिवेदन ल्याउन लागेका छन् । भट्टराईले पार्टीमा आन्तरिक निर्वाचनबाट नेतृत्व छान्ने र एउटा नेतृत्व दुई कार्यकालमात्र रहने प्रस्ताव अगाडि सारेपछी उनलाई अप्ठ्यारोमा पार्ने गरी प्रचण्डले प्रतिवेदन तयार गर्न लागेका हुन् ।

अध्यक्ष प्रचण्डलाई निर्वाचनको पराजयको जिम्मेवारी लिन लगाएर अप्ठ्यारो पार्न भट्टराई र श्रेष्ठले गतिविधी सञ्चालन गरेपछी आफू पक्षधर नेताहरूको सुझावअनुसार प्रचण्डले तल्ला समितिमै आन्तरिक प्रतिष्पर्धा गराउने विधिसहितको प्रस्ताव ल्याउन लागेको पार्टीका एक नेताले बताए । समानुपातिक सभाषद् छान्ने मापदण्ड अनुमोदन गर्न आइतबार बसेको केन्द्रीय समिति बैठकले राजनितिक विषयमा छलफल गर्न यही पुष २६ गते अर्को बैठक बोलाउने निर्णय गरेको छ । उक्त बैठकमा प्रचण्डले प्रतिवेदन पेश गर्नेछन् ।

आन्तरिक प्रतिष्पर्धा गराउँदा भट्टराई र श्रेष्ठ पक्षका नेताहरू थोरै निर्वाचित हुने र उनीहरू प्रस्तावको विपक्षमा उभिने प्रचण्ड पक्षको विश्लेषण छ । सातौ महाधिवेशनअघि आन्तरिक प्रतिष्पर्धाबाट नेतृत्व छनोट गर्ने योजना भएपनि भट्टराई र श्रेष्ठले ‘कोटा र आरक्षण’ खोजेपछी विफल भएको थियो ।

भट्टराईले रणनीतिक रूपमा प्रतिष्पर्धाबाट नेतृत्व छनोटको प्रस्ताव सार्वजनिक गरेपछी प्रचण्डले यसलाई कार्यान्वयनमै लैजाने गरी आफूनिकट नेताहरूलाई प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । सांगठनिक संरचनामा ७५ प्रतिशत निर्वाचित हुने र २५ प्रतिशत मनोनित हुने व्यवस्थासहितको प्रस्ताव केन्द्रीय समितिमा आउँदैछ । यसलाई विषेश संगठनात्मक राष्ट्रिय सम्मेलनसम्म पुर्याउने तयारी प्रचण्ड पक्षको रहेको समाचार आजको अन्नपूर्ण पोष्टले प्रकाशित गरेको छ ।